नगर विकासको बदमासी, पैसा लियो घडेरी खाली गरेन, पिडितद्धारा कार्यालयमा तालाबन्दी



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको कोहलपुर नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । समितिले आफ्नो नामको घडेरी बिक्री गर्न सूचना आह्वान नै गरेर पैसा बुझे पनि दुई वर्षसम्म खरिदकर्तालाई घडेरी उपलब्ध गराएको छैन । लामो समयसम्म पनि नगर विकासले पैसा लिएर घडेरी खाली गराउन नसकेपछि पिडितहरुले बुधबार समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् । गत २०७४ असोज २३ गते समितिले घडेरी बिक्रीको बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको थियो ।

समितिले उक्त समयमा दोस्रो र तेस्रो चरणका २० वटा घडेरी बिक्री वितरण गर्ने भन्दै बोलपत्र आह्वानको सूचना जारी गरेको थियो । बोलपत्र आह्वानको माध्यमबाट छनोट भएका व्यक्तिहरुलाई समितिले घडेरी बिक्री ग¥यो । तर समितिले रकम बुझे पनि अहिलेसम्म आधा मात्रै खरिदकर्तालाई घडेरी उपलब्ध गराएको छ । उती बेला बिक्री गरिएका २० वटा घडेरी मध्ये समितीले दुई वर्षसम्म पनि ११ जना घडेरी धनिहरुलाई घडेरी उपलब्ध गराउन सकेको छैन । सूचना निकालेर बिक्री गरेका १० वटा विभिन्न प्लट नम्बरका घडेरीहरुमा अवैध रुपमा टहरा बनेकाले घडेरी धनीहरुले आफुले खरिद गरेको घडेरी पाउन सकेका छैनन् । समितिले घडेरीको रकम लिएपनि दुई वर्षसम्म अतिक्रमित घडेरीहरु खाली नगराएको भन्दै घडेरी धनिहरुले समितिको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

११ जना घडेरी पिडितहरुले समितिसमक्ष तीन बुँदे माग राखेका छन् । खरिद गरेका घडेरीमा अवैध रुपमा कब्जागरी बनेका घर टहरा हटाई खाली गर्नु पर्ने, ट्रयाक खोली बाटो ग्राभिल गर्नुपर्ने र सबै घडेरीको चार किल्ला छुट्याउनु पर्ने उनीहरुको माग छ । पहिला पनि पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि समितिले आनाकानी र बाहानाबाजी गरी माग कार्यान्वयनमा ढिलाई गरेकोले तालाबन्दी गर्नु परेको घडेरी पिडित काशिराम कोइरालाले बताए । कोहलपुर नगर विकास समितिले आफूहरुको माग सम्बोधन नगरेर अन्याय गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले दाबी गरे । ‘यो हाम्रो रहर होइन, बाध्यता हो’ पिडित कोइरालाले भने, ‘बारम्बार हामी माथि धोका र अन्याय भएकोले यस्तो बाटो रोजेका हौँ ।’ अर्का घडेरी पिडित एकराज पाण्डेले व्यक्तिका जग्गामा नगरपालिकाले रजाई गरिरहेको बताए ।

‘खुरु खुरु करोडौ रकम हाम्रो बुझ्ने, अरुका बाटो पीच गर्ने’ उनले आक्रोश हुदै भने, ‘नगर विकास समितिको नालायकीपनका कारण हामीलाई दुःख दिने काम भएको छ ।’ तेश्रो चरणमा रहेका प्लट नम्बरहरु २४०, २४४, २४३, २६८, ३५५, ३४४, ३५१, ३५२, ३५३ र ३५४ खरिद गर्ने व्यक्तिहरुले अझैसम्म पनी जग्गा पाउन नसकेका हुन् । जग्गा खरिद गरेका कमल विसीले आफुहरुको करोडौको लगानी बालुवामा पानी हालेजस्तै भएको बताए । ‘पहिलो चरणमा चेतावनी स्वरुप तालाबन्दी गरेका छौं’ उनले भने, ‘माग पुर्ण रुपमा सम्बोधन नभए सम्म चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि बढ्नेछन् ।’ कार्यालयमा तालाबन्दी गरेका घडेरी धनीहरुले यस अघि नगर विकासका समितिका अध्यक्ष लुट बहादुर रावत र सुरक्षा निकायका प्रमुखसँग आफ्नो समस्या समाधानको लागि माग गरेका थिए ।

यस विषयलाई गम्भीर रुपमा लिएको भन्दै समितिले सोमबार सम्मको समय दिएको थियो । आस्वासन मात्रै दिने र कार्यान्वयन गर्न नसक्ने नेतृत्वको कार्यशैलीका कारण तालाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरुले बताए । नगर विकास समितिको गौरवमय लामो इतिहासमा पहिलो पटक तालाबन्दी भएको हो । समितिका अध्यक्ष लुट बहादुर रावतले समस्या समाधानको लागि सर्बदलीय बैठक बसाल्छु भन्दा पनि अटेरी गरेर तालाबन्दी गरिएको प्रतिक्रिया दिए । ‘मैले यस अघिको बैठकमा सर्वदलीय बैठकको निर्णय अनुसार समस्या समाधान गर्छु भनेको थिए’ उनले भने, ‘अटेरी गरी तालाबन्दी गरेपछि म के गरु ।’ तालाबन्दी मात्रै समस्याको समाधान नभएको तर्फ लक्षित गर्दै उनले सर्बदलीय बैठकबाट आवश्यक निर्णय लिइने दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २३ गते बिहीबार