डिल्ली शाही ।
बाँके कोहलपुर नगरपालिका भित्रका सरकारी विद्यालयका विद्यार्थीहरु गणित विषयमा कमजोर रहेको पाइएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धी २०७५÷०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरु कमजोर रहेको देखाएको हो । तथ्यांक अनुसार यहाँका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु गणितमा सबैभन्दा बढी कमजोर रहेको देखिन्छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा सरकारी स्कुलमा प्राथामिक, निम्न माध्यामिक र माध्यामिक तहमा अध्ययनरत विद्यार्थी अन्य विषयभन्दा कमजोर रहेका छन् । शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले विद्यार्थीहरु गणितमा कमजोर रहेको बताए ।
‘सामुदायिक विद्यालयमा शिक्षकहरुले पुरानै पद्धतीबाट अध्यापन गराउँदा यो समस्या आएको हो’ उनले भने, ‘शिक्षकहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गरेको समेत
देखिदैन ।’अहिले कोहलपुर नगरपालिकाको शिक्षा शाखाले गणित विषयका शिक्षकहरुका लागि सिकाई केन्द्र समेत स्थापना गरेको छ । ‘विकास र समृद्धि गराउन गणित विषयको भुमिका निकै महत्वपूर्ण रहन्छ’ नगर शिक्षा शाखा प्रमुख पौड्यालले भने । गणित विषय तार्किक रुपमा अध्यापन गराउनु पर्ने देखियो । नगर भित्रका सरकारी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु गणितमा कमजोर नतिजा ल्याएको पाइएपनि नतिजा सुधार गर्न नगरपालिकाले शिक्षकलाई तालिम दिन सुरु गरेको छ । तर कोहलपुर नगरपालिकाले बाँके जिल्लामा पहिलो साक्षरता घोषणा गरेको थियो । कोहलपुर नगरपालिका वडा नम्बर १, का अध्यक्ष गोपीलाल खनालले शिक्षामा प्रविधिको प्रयोग नभएको कारणले गणित विषयमा कमजोर भएको बताए ।
‘गणितमा अध्यापन गराउनका लागि ज्यामिती, विजगणित, र अंकगणितीय रुपमा विकास भएको हुन्छ’उनले भने,‘यसलाई व्यवहारिक रुपमा अध्यापन गराउनका लागि शिक्षकहरु अपडेट हुनु पर्छ ।’यस्तै ज्ञन ज्ञानज्योति माध्यामिक विद्यालयका प्राधानाध्यापक एकदेव पन्थीले गणित विषयमा कमजोर भएपछि गणित शिक्षकहरुको लागि सिकाई केन्द्र स्थापना गरेको बताए । ‘कोहलपुर नगरपालिकामा गणित विषयमा एकदमै खस्कीदो अवस्थामा पुगेको छ’ उनले भने ‘यसलाई गणित विषयमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकास गर्नका लागि सबै गणित शिक्षकहरुलाई सिकाई केन्द्रमार्फत सिकाई रहेका छौं ।’
बालबालिकाहरुलाई गणित विषयमा उत्कृट नतिजा ल्याउन सक्ने उनले विश्वास व्यक्त गरे । विद्यालय प्राधानाध्यापक पन्थीका अनुसार प्रदेश नं. ५ का गणित विषयक प्रशिक्षकहरुबाट कक्षाहरु सञ्चालन गरिरहेको उनले बताए । ‘शिक्षकहरुलाई गणित पुरानै तरिकाबाट अध्यापन गराउँदा विद्यार्थीले बुझेनन की भन्ने धारण आएको हुनाले यो कार्य गर्न लागेका हौं’ उनले भने ‘गणित विषयलाई कसरी अध्यापन गराउने, कुन साम्रागी प्रयोग गर्ने, प्रविधिलाई कसरी प्रयोग गर्ने खाल्का विषयहरुमा शिक्षकहरुलाई प्रबोधिकरण गरिरहेका छौं ।’ यसले कोहलपुरको गणित विषयको लागि अति महत्वपूर्ण योगदान पु¥याउने उनको भनाई थियो । कोहलपुर नगरपालिकाका विद्यालय निरिक्षक जिवन न्यौपानेले अभिभावकको कमजोरी गर्दा विद्यार्थीहरु कमजोर भएको बताए ।
‘अभिभावकहरुले सामुदायिक विद्यालय भन्ने बित्तिकै आफै मनोबल घटाउनुहुन्छ’ उनले भने ‘अभिभावकहरुले आफूले आत्मा पहिचान गर्नुपर्दछ ।’ शिक्षकहरुले बालबालिकालाई निरन्तर रुपमा शिक्षण क्रियाकलाप नगराएको कारणले पनि कमजोर भएका उनको भनाई थियो । यस्तै जनता माध्यामिक विद्यालय मैटहवाका गणित शिक्षक विष्णु बहादुर केसीले गणित विषयलाई केन्द्रीय तहबाट गणितलाई कमजोर बनाइएको बताए । ‘नेपालको पाठ्यक्रमबाट गणित विषयलाई हटाउने प्रास्ताव आएपछि हामीले पनि त्यती ध्यान दिएनौं’ उनले भने ‘तर हामीबाट कमजोर भने भएको छैनन् ।’ हामीले विद्यार्थीलाई इनकोडिङ्ग र डिकोडिङ्ग माध्यमबाट बालबालिकाहरुलाई अध्यापन गराउँदै आएको उनको भनाई थियो । उनका अनुसार बालबालिकाहरुलाई विद्यालयको कक्षाकोठा भन्दा बाहिर गणित सिक्ने अवसर नभएको गुनासो गरे ।
कक्षाकोठामा मात्र सिकेको सिकाई कति हुन्छ र ? उनले प्रतिप्रश्न गरे, यसमा न त अभिभावक नै जिम्मेवार छन् न त बालबालिका नै । यसले भविष्यमा गणित शिक्षा क्षेत्रमा झनै चूनौतिको रुपमा सिर्जना हुने उनको भनाई छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धी २०७५/०७६ को अनुसार गणित विषयमा कक्षा १ देखि ३ कक्षा सम्म ६१ प्रतिशत मात्र उर्तिण भएको तत्थांक छ । कक्षा ४ देखि ५ सम्म २०.९४ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् भने कक्षा ६ देखि ८ कक्षासम्म ४९ प्रतिशत उर्तिण भएका छन् । कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा नेपाली, स्वास्थ्य, सामाजिक विषयमा बढी उर्तिण भएको तथ्यांकले देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्