कोहलपुरमा जारी महोत्सव सकियो, वर्षाका कारण लक्ष्य भन्दा कम कारोबार



डिल्ली शाही, कोहलपुर । 

तेस्रो प्रादेशिक औद्योगिक लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सवमा लक्ष्य भन्दा कम कारोबार भएको छ ।बाँकेको कोहलपुरमा बुधबार सकिएको महोत्सव अवधिभर लक्ष्य भन्दा कारोबार भएको हो । गत पुस २४ गते बाट ‘मेहनत सृजना, उत्पादन र बस्तुः मेरै लगानी’ भन्ने मुलनाराका साथ महोत्सव सुरु भएको थियो ।

महोत्सव पुष २४ गतेबाट सुरु भएपनि बीचमा वर्र्षाका कारण रोकिएका कारण तीन दिन थप भएका कारण बुधबार मात्र समापन गरियो । समापन कार्यक्रममा बोल्दै महोत्सव मुल आयोजक समितिका संयोजक हेमविक्रम जिसीले बर्षाका कारणले गर्दा लक्ष्य भन्दा कम कारोबार भएको बताए । उनका अनुसार महोत्सवमा व्यवसायीहरुबाट १ करोड २० लाख बराबरको कारोबार गर्ने लक्ष्य आयोजकको थियो । तर तीन दिन थप गरिएको महोत्सव अवधिभर अनुमानित जम्मा ७० लाख बराबर कारोबार भएको भएको छ ।

यस्तै एक लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको भएपनि लक्ष्य अनुसार दर्शकको उपस्थिति हुन सकेन । संयोजक जिसीले एक लाख हाराहारीमा दर्शकहरुले अवलोकन गरेको हुन सक्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष जिसीको कारोबार भन्दा शान्तिपूर्ण तरिकाबाट समापन हुनु नै गौरवकोे विषय भएको जनाए । ‘महोत्सव सञ्चालन भएको छैठौ दिनमा मात्र २० हजार बराबर दर्शकले अवलोकन गरेका थिए’उनले भने, सबैभन्दा कम महोत्सवको तेस्रो,पाँचौ र नवौ दिनमा वर्षातले प्रभाव पा¥र्यो ।’

महोत्सव सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरुलाई उनले धन्यवाद ज्ञापन व्यक्त गरेका छन् । यस्तै महोत्सव समापन सत्रमा बोल्दै प्रदेश नम्बर पाँच÷प्रस्तावित लुम्बिनी प्रदेशकी भूमि, व्यवस्था, कृषि तथा सहरकारी मन्त्री आरती पौडेलले घरेलु महासंघ पनि व्यवसायीहरुको संगठन भएको बताइन् । एक व्यवसायी संगठनले महोत्सव सञ्चालन गर्दा अर्को व्यवसायी संगठनले सहयोग नगर्ने भन्ने हुँदैन भन्दै स्थानीयस्तरमा रहेको बस्तुहरुको विक्रिवितरण गर्नुपर्नेमा सबैको सहयोग गर्नुले उनले बताईन् । ‘न यहाँ उद्योग वाणिज्य संघ \होटल व्यवसायी संघ कसैको पनि सिण्डिकेट हुनु हुदैन’ उनले भनिन्, ‘स्थानीय स्तरमा हुने यस्ता प्रकारका कार्यक्रम हुँदा विवाद गर्नु
हुदैन ।’

उक्त अवसरमा मन्त्री पौडेलले कोहलपुरमा उद्योग ग्राम बनाउनुपर्नेमा जोड दिएकी थिइन् । प्रदेश सरकारले कोहलपुरमा उद्योगग्राम बनाउन योजना बनाएको उनको भनाई छ । यस्तै नेपाल घरेलु साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष समर बहादुर खत्रीले बाँके जिल्लामा आठ वटै स्थानीय तहमा गठन भैसकेको बताए । अहिले कोहलपुरमा महोत्सव सञ्चालन गर्दा अवरोध केही संघ संस्थाहरुले अवरोध पु¥याउने प्रयास गरेको भएपनि महोत्सव समग्रमा सफल भएको उनको भनाई थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटि अध्यक्ष बसन्ती अधिकारीले महोत्सवबाट कोहलपुर नगरपालिका विकास र समृद्धि नभई बाँकेको नै विकासमा टेवा पुगेको बताइन् । उनले महोत्सव सकिएको १५ दिनभित्र आर्थिक कारोबार पादर्शिकताका साथ सार्वजनिक हुनु पर्नेमा जोड दिएकी छन् । यसैबीच समापन कार्यक्रममा नगरस्तरीय नृत्य प्रतियोगितामा बागेश्वरी एकेडेमी प्रथम भएको छ । यस्तै निम्बल एकेडेमी स्कुल द्धितीय र ग्रिन पिस माध्यामिक विद्यालय तृतिय भएको छ । यस्तै महोत्सव सफल पार्ने सम्पूर्ण संघ संस्था र अन्य व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै महोत्सव अवधिभर अवलोकन गर्न आउने दर्शक कोहलपुर कौशिलानगरकी बृद्ध ८९ वर्षीया तिर्था पुनलाई पनि सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ९ गते बिहीबार