कोहलपुरमा जारी प्रादेशिक महोत्सव, थपियो तीन दिन



कोहलपुर । बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ अझै तीन दिन सञ्चालन भएको छ । गत पुस २४ गतेबाट सुरु भएको महोत्सव आइतबार समापन हुने पुर्व निर्धारित कार्यतालिका रहेको थियो । आइतबार नै कोहलपुर नगरपालिकाले महोत्सव सञ्चालन अझै दुई दिन गर्न अनुमती प्रदान गरेको हो ।

महोत्सव दुई दिन सञ्चालन गर्न अनुमती पाएसँगै अब आगामी ८ गते महोत्सव समापन गरिने महोत्सव मुल आयोजक समितिका संयोजक हेमविक्रम जिसिले जानकारी दिए । ‘नगरपालिकाले मंगलबारसम्म महोत्सव सञ्चालनको लागि अनुमती प्रदान गरेको छ’ उनले भने,‘हामीले भने ८ गते औपचारीक रुपमा महोत्सवको समापन गर्ने योजना बनाएका छौं ।’ आइतबारसम्म सञ्चालन गर्ने भनिएको महोत्सव प्रतिकुल मौसमका कारण दुई दिन थप गरीएको बताइएको छ । भारी बर्षाका कारण आयोजकले शुक्रबार एक दिन महोत्सव स्थगित समेत गर्नुपरेको थियो ।

आयोजकले शुक्रबार नै महोत्सव थप गर्नको लागि अनुमती ल्याउने प्रयास गरेपनी नगरपालिकामा सार्वजनिक बिदा भएकाले सम्भव भएको थिएन् । महोत्सवका सचिवालय संयोजक चिन्तामणी उपाध्याय (सिएम)ले केही दिन महोत्सवलाई बर्षाले असर पु¥याएकाले दुई दिन थप गर्नको लागि अनुमती मागिएको बताए । ‘हिउँदे बर्षाले महोत्सव स्थलमा क्षती पु¥याउनुका साथै असर समेत ग¥यो’ उनले भने, ‘सोहीलाई मध्यनजर गरेर आगामी दुई दिन महोत्सव सञ्चालन गर्न पाउने नगरपालिकाबाट अनुमती पाएका छौं ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा कोहलपुरस्थित खुल्ला मैदानमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ सञ्चालन भईरहेको छ । दर्शक र ब्यापारीहरुको मागका कारण महोत्सव थप गर्न आयोजक बाध्य भएको हो । आयोजकले स्थानिय निकायको साथै जिल्ला प्रशासन कार्यालय बाँकेबाट समेत महोत्सवको अवधि थपका लागि अनुमती प्राप्त गरेको छ ।

करीब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ब्यापारीक स्टलका साथै साँस्कृतीक तथा थारु संग्राहलयको समेत ब्यवस्था मिलाईएको छ । महोत्सव अवधिभर १ देखि डेढ करोडसम्म कारोवार गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव रहेका सचिवालय संयोजक उपाध्यायले जनाए ।

महोत्सवमा ब्यापारीक, होटल ब्यवसाय, हस्तकलाका सामग्री तथा घरेलु उत्पादन लगायतका तीन सय स्टलहरु राखिएको छ । महोत्सव समापन हुने दिन नजिकिदै जाँदा स्टलमा विभिन्न समानहरु किन्ने मानिसहरुको भिड लाग्ने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार