नेपालगञ्ज उवासंघ निर्वाचन, समावेशी प्यानलद्धारा घोषणापत्र जारी



नेपालगञ्ज ।

आसन्न नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनलाई लक्षित गरेर समावेशी प्यानलले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । बाँकेमा ठुला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख पर्दा तत्काल परिचालन हुने ‘हेल्प टिम’ बनाउने जस्ता विषय समेट्दै अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले प्रतिवद्धता –पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धतापत्रमा नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न नसकेको भन्दै चिन्ता प्रकट गरिएको छ । नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट, रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना भएको प्रतिवद्धतापत्रमा भनिएको छ ।

यसका लागि लगानीकर्तालाई आर्क्षित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिएको भन्दै समावेशी प्यानलले देश÷ बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाएको छ । लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्ने र लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिच्ने अपेक्षा गरिएको छ ।

त्यस्तै उद्यमी व्यवसायीहरुलाई पर्न आउने व्यवसायीक पिरमर्काहरुलाई शिघ्र सम्बोधन गर्न संघका पदाधिकारीकै नेतृत्वमा सूचना पाउँना साथ तत्काल परिचालन हुने गरी ‘हेल्प टिम’ बनाउने र उक्त टिम उद्योगी, व्यवसायीको समस्या समाधान गर्न अहोरात्र खटिन तयार हुने प्रतिवद्धता व्यक्त गरिएको छ । प्रतिवद्धता पत्र सार्वजनिक समारोहमा नेपाल उदोग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, निर्वाचन परिचालन समिति संयोजक ईश्वर प्रसाद पोख्रेल, अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना, प्रतिष्ठित व्यवसायी बिजय गुप्ता, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव अशोक कर्मचार्य, घोषणापत्र सम्पादन समितिका सदस्य कोषराज रेग्मी, निर्वाचन परिचालन समिति सहसंयोजक भाष्कर काफ्ले, सचिवालय संयोजक बसन्त लामिछाने लगायतले मन्तव्य व्यक्त गर्दै उद्योगी, व्यवसायीको हितका लागि समावेशी प्यानललाई विजयी बनाउन आह्वान गरेका थिए ।

अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलको तर्फबाट उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सदस्यहरुमा टंक बहादुर धामी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, मन्दिरा पाण्डे, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, भिम रानाभाटले उम्मेदवारी दिएका छन् । बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष) सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके)ले मनोनयन दर्ता गराएका थिए । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीले उम्मेदवारी दर्ता गराएको समावेशी प्यानलको सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार नै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरिसकेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले अध्यक्षमा ललित कुमार रौनियार, उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । त्यसैगरी अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ५ गते आइतबार