रावन बिश्वकर्मा । बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकामा आजबाट थारु समुदायहरुको ठुलो पर्व माघीको अवसरमा माघ महोत्सव सुरु हुँदैछ । बर्दियामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गरी पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्देश्यले भ्रमण वर्ष २०२० तथा बाँसगढी माघ महोत्सव हुन गइरहेको हो । ‘घुम्न जाऔँ बर्दिया’ भन्ने मुल नाराका साथ बाँसगढी नगरपालिकाको सहयोग तथा संरक्षणमा बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदैछ ।
आजबाट सुरु हुने बाँसगढी माघ महोत्सव आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा पर्यटकिय गन्तव्यको सुचिमा परेका प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुसँगै अन्य पर्यटकिय सम्भावना बोकेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गरिने बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेलले जानकारी दिए । महोत्सव अवलोकनको लागि आम समुदायलाई पुर्ण निशुल्क रहेको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा स्टल निर्माण उपसमिति संयोजक बद्रि बरालले बताए ।
महोत्सवका प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले बर्दिया जिल्लाको मौलिक पहिचानको रुपमा रहेको थारु समुदायको कला संस्कृतिलाई उजार गर्न थारु नृत्य प्रतियोगिता, थारु साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने दाबी गरे । महोत्सवको माध्यमबाट थारु कला संस्कृतिलाई पर्यटन प्रर्बद्धनसँग जोड्ने, थारु कला संस्कृतिसँगै बर्दियामा रहेका पर्यटकिय सम्भावित क्षेत्रहरुको प्रचार प्रचार हुने बाँसगढीका युवा रेशम अधिकारीले बताए ।
‘यो महोत्सवले बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु बर्दिया भित्र्याउन सघाउ पुर्याउनेछ’ उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्याउने विश्वास गरेका छौं ।’ महोत्सवमा थारु नृत्य प्रतियोगितासँगै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु पुर्णकला वि.सी, नविन पौडेल, चक्र बम, श्री निवास चौधरी, अञ्जु कुश्मी, राज कुश्मी, बिवश चौधरी, सुनिता दहित, रितु चौधरी लगायत एक दर्जन बढी कलाकारहरुको सहभागिता हुनेछ ।








प्रतिक्रिया दिनुहोस्