सुगम कोहलपुरको, दुर्गम ‘शान्तिनगर’ बस्ती, कहिले पुग्ला सिंहदबार !



कोहलपुर
सेवा सुविधा र पुर्वाधारका दृष्टिले अन्य वडा भन्दा निकै सुगम मानिन्छ, बाँकेको कोहलपुर नगरपालिकाका वडा नम्बर ११ । कोहलपुरको केन्द्र समेत रहेको यो वडा सुगम वडा समेत हो । मुख्य बजार न्युरोडबाट हिडेर दुई मिनेटको बाटो हुँदै त्यहाँ पुग्दा सुगम वडाको विकटताको पराकाष्ठा भेटिन्छ । त्यहाँ पुग्ने जोसुकैलाई लाग्छ कति दुर्गम, बिकट अनि फोहोरी क्षेत्र ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ भित्रै पर्ने उक्त टोलको अवस्थाले कुनै पनि किसिमको सुगमताको परिभाषा झकिल्न् । बरु ‘ग्रिन एण्ड क्लिन सिटी’ बनाउने नगरपालिकाको नाराले आफैलाई गिज्याउँछ । गाउँ–गाउँमा सिंहदरबारको नाराले प्रश्न गर्छ, गाउँ–गाउँ सिंहदरबारको अर्थ के हो ? असुविधा, अभाव र नयाँ मान्छे टोलमा झुल्किदा सहयोग लालसा हो र सिंहदरबारको अर्थ । यस्तै अनुभुति÷विवशता भेटियोे, शुक्रबार मिसन टुडेको टीम त्यही शान्तिनगर टोल पुग्दा । सुगम वडाको अत्यन्तै विकट भूमिहिन, लाजपुर्जा विहिन, सुकुम्बासी बस्ती हो त्यो । कुल ४१ घरधुरी, थारु, गन्दर्भ जनजाती र गैर दलितहरुको बसोबास छ त्यहाँ । वरीपरी बाढीले कटान गरेको क्षेत्र ठाउँ ठाउँमा साना टाकुरामा लहरै लागेका घरहरु छन् ।

त्यही टोलमा घरको भित्तामा टाँसिएर कुर्सीमा पारिलो घाम ताप्तै गरेको अवस्थामा भेटिए, २०६५ साल देखी त्यहाँ बसोबास गर्दै आएका पुरुत्षोतम् खड्का । बर्दियाको साविक धधवार गाविस ७, अहिलेको बारबर्दिया नगरपालिकाका खड्का सुकुम्बासीको रुपमा बस्न थालेको एक दशक बितिसक्यो । ३ छोरी र श्रीमती सहित उनी शान्तिनगर टोलमा बस्दै आएका छन् । उनको मुख्य पेसा नै ज्याला मजदुरी हो । खड्का भन्छन्, ‘बजारमा निस्कदा काम पाउदाँ साँझ चुल्हो बल्छ, नपाए त त्यस्तै हो ।’ ‘जमिनको नाममा चार कोटे अस्थायी घर छ, घर खर्च चलाउन ससुरालीले सहयोग गर्छन्, हामी भूमिहिनको त कोही पनि छैन्’ खड्का भने ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा  रहेको सुकुम्बासी बस्ती

उक्त बस्तीमा साईकल समेत गुड्न सक्ने अवस्था छैन् । सुकुम्बासी टोलमा स्थानीय सरकारका प्रनितिधि कहिल्यै पुगेका छैनन्, नत कुनै अधिकारवादी एनजिओ र आईएनजिओ नै । ‘केवल बाँचेका छौ त पाँखुरा र मजदुरीको भरमा’ उनले भने, ‘हामी कहाँ कहिले पुग्ला र खै सिंहदरबार ।’ २०७४ को चुनावको बेला केही कार्यकर्ता आएको भएपनि उक्त बस्तीमा अहिले सम्म कोही पनि नपुगेको खड्काको भनाई छ । ‘भोट माग्ने बेला बिजुली ल्याउँछौ, खानेपानी धारा बनाउँछौ भन्थे । अहिले अनुहार देख्न समेत गाह्रो छ’ उनले भने । उनी जस्तै उक्त टोलमा १५ वर्षदेखी बस्दै आएका अर्जुन खड्काको पनि कथा व्यथा कम्ता पिडादायी छैन् । बजारमा निस्कदा काम नपाएर कति दिन भोकै बस्नुपरेको अनुभव छ उनीसँग । अहिले पनि विगत १० दिन देखी केही काम नपाएर घर कुरिरहेका रहेछन् ।

‘काम खोज्दा पाईदैन, धेरै दिन भयो कही गएको छैन, हामीलाई चार महिना भारतमा गएको पेसाले जिन्दगी गुजारा गर्नुपर्ने बाध्यता रहेको छ’ अर्जुनले भने । ‘गाउँ–गाउँमा सिंहदरबार आयो भनेर रेडियोमा सुन्ने गरेको छु’ उनले भने, ‘न शौचालय, न खानेपानी, न बिजुलीको व्यवस्था छ हामीलाई, कहाँ आको छ होला सिंहदरबार ।’ समाचारमा कोहलपुरका प्रमुख र वडा अध्यक्षका भाषण सुन्ने गरेका उनले अहिले सम्म कसैको अनुहार समेत देखेका छैनन् । आफूले चुनावमा भोट हालेर जिताएका प्रतिनिधि कस्ता छन् भनेर देख्ने भन्दा पनि उनीहरुलाई पापी पेटकै बढी चिन्ता छ । चिन्ता त उनीहरु ‐जनप्रतिनिधि)लाई हुनुपर्ने भन्दै खड्का प्रश्न गर्छन्, ‘हाम्रो बस्तीमा सिंहदरबार अहिले आउने होला ।

हाम्रो दुःख सुनाएर पनि के फाईदा छ र साव, को नै छ र हाम्रो कथा व्यथा सुन्ने ।’ उक्त बस्तीका कोही पनि सरकारी मात्रै होईन कुनै संघ–संस्थामा समेत जागिरे कोही छैनन् । सबैको पेसा ज्याला मजदुरी गर्ने मात्रै हो । खुला क्षेत्र भएकोले निकै जोखिम हुने भन्दै पुरुष भन्दा महिलालाई झन् समस्या रहेको स्थानीय उषा कुमारी खड्का बताउँछिन् । ‘कसैले एउटा मात्र शौचालय बनाईदिएको भएपनि निकै राहात हुने थियो’ उनले भनिन्, ‘४१ जना घरधुरी रहेको बस्तीमा पक्की शौचालय नै छैन ।’

शान्तिनगर टोलका अगुवा लोक बहादुर राना स्थानीय सरकार सँग अस्थायी बस्ती भएको स्थायी रुपमा बस्ने वातावरण बनाईदिनुपर्ने बताउँछन् । यहाँको सबै भन्दा ठूलो समस्याको रुपमा बेरोजगारी, स्वास्थ्य तथा खानेपानीको मुख्य समस्या रहेको छ । ‘एक पटक मन्त्री आरती पौडेल आउनुभएको थियो’ उनले भने, ‘थुप्रै आस्वासन दिनु भएको छ खै के हुने हो, हामी त मानिसको चोला भएर पनि नारकीय जीवन बिताईरहेका छौ ।’ लामो समय देखी अस्थायी रुपमा बस्दै आएका उनीहरुलाई नगरपालिकाले बस्ती नै उठाईदिने पो हो की भन्ने समेत चिन्ता छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले वडा कार्यालयमा आफ्ना समस्याहरु लिएर आएमा सहयोग गर्न सकिने बताए । उनका अनुसार कानुनी प्रक्रिया पु¥याएका, बसाईसराई गरेका हरुलाई सामाजिक सुरक्षा भत्ता लगायतका सेवा स्थानीय सरकारले दिईरहेको छ ।

भूमिहिन र सुकुम्बासीहरुको हकमा लामो समयदेखी समस्या रहेका भन्दै उनीहरुको व्यवस्थापनको लागि सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । प्रतिनिधि चुन्नको लागि उनीहरुले भोट हालेका छन् नी भन्ने मिसन टुडेको प्रश्नमा अध्यक्ष थापाले भने, ‘नेपाली नागरिकता होला, भोट हालेका होलान् मैले भनिसके प्रक्रियागत रुपमा नगरपालिका र नगर विकास समितिले समस्या समाधानको लागि पहल गर्नुपर्छ ।’ कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सुकुम्बासी, भूमिहिनको लागि स्थानीय सरकार गम्भिर भएको बताए ।

नगर विकास समितिका अध्यक्ष समेत रहेका उनले कोहलपुरमा पुस्तौ देखी बन्दै आएका गन्दर्भहरुको लागि स्थायी बसोबास गराउने प्रक्रिया शुरु भईसकेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा १० घर परिवारलाई पक्की घर बनाएर व्यस्थापन गरिएको बताए ।
फोटो क्यासनः

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २७ गते आइतबार