नौवस्ता औद्योगिक क्षेत्र मेरै कार्यकालमा बन्छ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट



कोहलपुर ।
संघिय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पश्चिम क्षेत्रलाई विषेश आर्थिक क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । सुदूरपश्चिम, कर्णाली र प्रदेश पाँच लगायतका प्रदेश विकासका दृष्टिले पछि परेको भन्दै उनले आर्थिक विकासको रुपमा विकास गरिने बताएका हुन् । कोहलपुरमा बिहीबार तेस्रो प्रादेशिक औद्योगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एंव पर्यटन महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री भट्टले अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्र विकासका दृष्टिले पछि रहेको दाबी गरे ।

उद्योग, कलकारखाना र औद्योगिक क्षेत्रको विकास मार्फत यस क्षेत्रको विकास र समृद्धि आफ्नो लक्ष्य रहेको उनले बताए । सरकारले केही आर्थिक क्षेत्र समेत घोषणा गरेको बताउँदै मन्त्री भट्टले लघु, घरेलु उद्योगको विकासमा जोड दिईएको अवगत गराए । सरकारले घोषणा गरेका ७ औद्योगिक क्षेत्र मध्ये एक बाँकेस्थित नौवस्ता औद्योगिक क्षेत्र बनाउन आफू प्रतिबद्ध रहेको उनले दाबी गरे । ‘नौवस्ता औद्योगिक क्षेत्र विस्तारको लागि कानुनी प्रत्रिया पुरा गर्ने काम भईरहेको छ’ मन्त्री भट्टले भने, ‘मेरै कार्यकालमा नौवस्ता क्षेत्र निर्माण भएरै छोड्छ ।’ औद्योगिक क्षेत्रको डिपिआर लगायतका प्रक्रिया पुरा गर्न भूमी व्यवस्था र वन मन्त्रालयसँग आवश्यक समन्वय भईरहेको उनले जानकारी दिए ।

नौवस्ता औद्योगिक क्षेत्रलाई पुरा गर्नको लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै पनि किसिमको कमी हुन नदिने मन्त्री भट्टले प्रतिबद्धता जनाए । ‘पश्चिम क्षेत्र पर्यटक, धार्मिक पर्यटकको सम्भावना भएको क्षेत्र हो’ उनले भने, ‘आर्थिक विकासको लागि उद्योगको विकास समेत हुनुपर्छ, सरकारले लिएको आर्थिक समृद्धि, खुसी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नु हामी सबैको दायित्व हुन्छ ।’ यस्तै नेपाल अहिले मासुमा आत्मनिर्भर भएको जानकारी गराउदै मन्त्री भट्टले स्थानीय स्तरमा रहेका उद्योग सञ्चालनको लागि लगानी गर्न सरकार तयार रहेको बताए । ‘विकास र समृद्धि नभएर देश विकास हुँदैन, जनता बलियो भए, आर्थिक विकास असम्भव हुन्छ’ उनले भने ।

बाह्य उत्पादन भन्दा आन्तरिक उत्पादनमा जोड दिन उनले सबै व्यवसायी र उद्योगीलाई आग्रह गरेका थिए । यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पुर्णा कुमारी सुवेदीले अहिले आवश्यकता आर्थिक विकास नै भएको बताईन् । बाँके निर्वाचन क्षेत्र १ का प्र्रतिनिधिसभा सांसद महेश्वर गहतराजले पनि पश्चिम क्षेत्रका बजारमा बाह्य बजारमा कब्जामा रहेको भन्दै स्थानीय उत्पादनमा जोड दिनुपर्नेमा जोड दिए ।

भारत र चिनका उत्पादन राम्रो मान्ने प्रवृत्तिका कारण यहाँको आर्थिक विकास पछि परेको उनले दाबी गरे । ‘अब स्थानीय उत्पादनलाई जोड दिनुपर्छ’ उनले भने, ‘बाह्य उत्पादन पुर्ण रुपमा निरुत्साहित गरौ, यहाँको स्थानीय उत्पादनको प्रवद्र्धनको लागि हाम्रो सहकार्य आवश्यक छ ।’ यस्तै महोत्सवलाई लिएर कोहलपुर उद्योग वाणिज्य संघले विरोध गरेको तर्फ लक्षित गर्दै सांसद गहतराजले भने, ‘मेला महोत्सवको कसैको व्यक्तिगत नहुने भन्दै जसले आयोजना गरे पनी कोहलपुरको आर्थिक विकासकै लागि भएको हो ।’ ‘सबैले महोत्सव सफल बनाउन सहयोग गरौं, यो विरोध गर्ने समय होईन आर्थिक समृद्धि हामी सबैको चाहना हो’ उनले भने ।

बाँकेमा नौवस्ता औद्योगिक क्षेत्र, नेपालगञ्ज विमानस्थलको विकास, बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न, सिक्टा सिचाई मार्फत सिचाई गरी कृषि हब बनाउन आवश्यक बजेट विनियोजन भएको औद्योगिक क्षेत्रको आधार खडा भईरहेको उनले जानकारी दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष उमेश प्रसाद सिंहले महोत्सवको मुल उद्देश्य स्थानीय उत्पादन प्रदर्शन तथा बजारीकरण गर्ने रहेको दाबी गरेका थिए ।

देशको विकासको मेरुदण्ड आर्थिक विकास भएकाले बाह्य उत्पादन निरुत्साहित गर्न आन्तरिक उत्पादनलाई जोड दिनको लागि देशभर महोत्सव आयोजना गरिरहेको उनले बताए । ‘पछिल्लो समय अन्र्तराष्ट्रिय बजारमा नेपाली उत्पादनले पनि प्रतिष्पर्धा गर्न थालेको छ’ उपाध्यक्ष सिंहले भने, ‘सरकार र उद्योगीको समन्वय आवश्यक रहेपनि करको मारमा व्यवसायी रहेका छन् ।’

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २५ गते शुक्रबार