कोहलपुरमा औद्योगिक प्रवद्र्धनका लागि महोत्सव हुँदै



डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुरमा औद्योगिक प्रवद्र्धनका लागि महोत्सव हुने भएको छ । आउँदो पुस २४ गतेदेखि माघ ५ गतेसम्म कोहलपुरमा महोत्सव सञ्चालन हुनेछ । तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि, तथा प्रविधि प्रर्दशनी, व्यापार एवं पर्यटन महोत्सव हुन लागेको हो ।‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपाल’ भन्ने मुल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले आयोजना महोत्सव हुनेछ । शनिबार आयोजकले पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिएको छ । महासंघ कोहलपुर नगर समिति अध्यक्ष हेम विक्रम जिसीले औद्योगिक प्रवद्र्धनका लागि महोत्सव सञ्चालन गरिन लागेको बताए ।

‘स्थानीय रुपमा रहेका लघु तथा घरेलु उद्योगहरुबाट उत्पादित भएका बस्तुहरुलाई बढि प्राथामिकता दिएका छौं’ उनले भने, ‘प्रदेश नं. ५ मा रहेका १२ वटा जिल्लाहरुबाट महोत्सवको लागि स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुलाई महोत्सवमा प्रर्दशन गरिनेछ ।’ उद्योग, व्यवसायी, कृषि पर्यटन, कला संस्कृतिलाई टेवा पुग्ने गरी स्टलहरु राखिने अध्यक्ष जिसिले बताए । महोत्सवमा तीन सय वटा स्टलहरु राखिने आयोजकले जनाएको छ ।

त्यसमा सबैभन्दा बढी राष्ट्रिय एवं अन्तराष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका लागि ९० वटा स्टलहरु छुट्याइएको छ । अध्यक्ष जिसीका अनुसार कृषि उपज तथा जडिबुटीका लागि ५०, लघु तथा घरेलु उद्योग र होटल रेष्टुरेण्टका लागि ३०, सूचना प्रविधि, पर्यटन र प्रायोजकहरुका लागि २०, बैंक वित्तिय तथा सहकारी संस्थाका लागि १५, मौलिक कला प्रर्दशनका लागि ५ वटा स्टलहरु राखिनेछ ।

महासंघ नगर समितिका सचिव चिन्तामणि उपाध्यक्ष (सि.एम) ले महोत्सवबाट करिब १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार महोत्सव १ लाख ५० हजार बढीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नगर समितिका उपाध्यक्ष रामु लम्सालले पर्यटन वर्ष २०२० लाई पुरा गर्ने लक्ष्य समेत राखेको दाबी गरे । ‘प्रदेश ५ मा रहेका १२ वटै जिल्लाका पर्यटनका प्रवर्धनलाई सहयोग हुने गरी स्टलहरु राखेका छौं’ उनले भने, ‘स्टलमा डिजिटल प्रविधि जडान गरिएको हुनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार