कोहलपुरमा बन्दै योग अस्पताल, आगामी माघबाट सञ्चालनमा ल्याउने तयारी



कोहलपुर ।

बाँकेको कोहलपुरमा योग अस्पताल निर्माण हुने भएको छ । कोहलपुर नगरपालिका २ प्रेमनगरमा सुविधासम्पन्न योग अस्पताल निर्माण हुन गइरहेको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ प्रेमनगरमा योग अस्पतालको लागि अहिले तिव्र रुपमा भवन निर्माण कार्य भइरहेको छ । योगको माध्यमबाट बिरामीको उपचार गर्ने उद्देश्य सहित कोहलपुरमा पहिलो पटक अस्पताल निर्माण हुन लागेको योग तथा प्राकृतिक स्वास्थ्य समाज नेपालले जनाएको छ । ‘विगत एक वर्ष अघिदेखि भवन निर्माणको काम जारी रहेको छ’ अध्यक्ष नम प्रसाद शर्माले भने, ‘निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएकाले आगामी माघ महिनाबाट सञ्चालनमा ल्याउँने तयारी गरेका छौं ।’

उनका अनुसार अस्पतालको स्वामित्व समाजको हुने गरी निर्माणको काम अगाडि बढाइएको हो । प्राकृतिक र योगको माध्यमबाट उपचार गर्नको लागि कोहलपुरमा पहिलो पटक अस्पताल निर्माण गर्न थालिएको अध्यक्ष शर्माले बताए । अस्पताल निर्माणको लागि संघिय, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेका छन् । संघीय सरकारले २४ लाख, ५ नम्बर प्रदेश सरकारको २५ लाख र कोहलपुर नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । अध्यक्ष शर्माका अनुसार अस्पताल सञ्चालनको लागि सदस्य र आजिवन सदस्यहरुको शुल्कबाट समेत भवन निर्माण थालिएको हो । ‘योगको माध्यमबाट बिरामीको उपचार हुनेछ’ उनले भने, ‘योग संसारमा सफल भएको प्रविधि हो ।’

अस्पताल सञ्चालनमा आएपछि भारत लगायतका विभिन्न देशका ख्याती प्राप्त आयुर्वेद डाक्टरहरुले बिरामीहरुलाई सेवा दिनेछन् । अस्पतालमा विभिन्न किसिमका योगा, मनोरञ्जन कक्ष, आराम कक्ष लगायतको सेवा सुविधा हुनेछ । योग तथा प्राकृतिक स्वास्थ्य समाज नेपालका अध्यक्ष शर्माले अन्य सरकारी तथा निजि अस्पतालहरु भन्दा पनी यहाँ योग, थेरापीको माध्यमबाट उपचारको व्यवस्था हुने बताए । २०७० सालमा औपचारिक रुपमा स्थापना भएको समाजमा अहिले अस्पतालका ७ सय जना बढि आजिवन सदस्यहरु रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १ गते आइतबार