तरुण दलको बन्दले बाँकेको जनजिवन प्रभावित



नेपालगञ्ज ।

शुक्रबार नेपाल तरुण दल बाँकेले आह्वान गरेको जिल्ला बन्दले जनजिवन प्रभावित भएको छ । अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका आफ्ना नगर सभापतिसहित कार्यकर्ताहरुको रिहाईको माग राख्दै तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेको थियो । शुक्रबार बिहानैदेखि बन्दको कारण जनजिवन प्रभावित भएको थियो । बाँके बन्दका कारण सार्वजनिक यातायात, विद्यालय, कलकारखाना व्यापार व्यवसाय प्रभावित भए । इलाका प्रहरी कार्यालय कोहलपुर दिउँसो बल प्रयोग गरेर सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा ल्याएको थियो ।

कोहलपुरको चौराहामा अवरुद्ध सडक खुलाउन परिचालित प्रहरी र बन्द गर्न खोज्दै काँग्रेस कार्यकर्ता । तस्बिरः कृष्ण ओली

नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले कोहलपुर, नेपालगञ्ज, खजुरा, चिसापानी लगायतका क्षेत्रमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । गत कात्तिक १४ गते प्रहरीले नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिका सभापति सन्दिपजंग शाहसहित चार जनालाई पक्राउ गरेको थियो । उनीहरुको रिहाईको मागको साथै प्रहरीले सत्ताको आडमा आफ्ना नेता कार्यकर्ताहरुलाई दुख दिएको विरोधमा तरुण दलले बन्दको आह्वान गरेको हो ।

बन्दको क्रममा कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि बिहानैदेखि ठूलो सख्ङ्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ३० गते शनिबार