कोहलपुर ।
बाँकेमा पछिल्लो ४० घण्टामा पाटे बाघको आक्रमणबाट दुई महिलाले ज्यान गुमाएका छन् । मंगलबार मात्र राप्तीसोनारी गाउँपालिका ८ बालापुरकी ६० वर्षिय ठगी खड्काको ज्यान गएको छ । शिवशक्ति सामुदायिक वनमा मंगलबार बिहान ९ बजेतिर घाँस काट्न गएकी उनीलाई पाटे बाघले आक्रमण गरेको थियो । छातीको भागमा आक्रमण गरेको अवस्थामा खड्काको शवं फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सामुदायिक वनमा घाँस काट्न गएकी उनलाई पाटे बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजीमा निस्कीएको प्रहरी र स्थानीयबासीको टोलीले शवं फेला पारेको थियो । आइतबार दिउँसो ४ बजेतिर कोहलपुर नगरपालिका १३ खड्कवारमा बाघको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको थियो । स्थानीय वनमा घाँस काट्न गएकी सोही ठाउँकी ६५ वर्षिय काली बस्नेतलाई पाटे बाघले आक्रमण गरेर मारेको हो । लगातार दैनिक जसो मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुलाई पाटे बाघले आक्रमण गरेर ज्यान लिन थालेपछि स्थानीयहरु त्रसित बन्न थालेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले दुवै महिलालाई पाटे बाघले नै आक्रमण गरेर मारेको पाइएको बताए । ‘हामीले घटनास्थलमा गएर दुवै घटनालाई हेर्दा पाटे बाघले नै आक्रमण गरेको देखिन्छ’ उनले भने, ‘चितुवा भन्दा पनी निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आएको पाटे बाघले आक्रमण गरेको पाइयो ।’ कोहलपुर १३ र बालापुरमा महिलालाई आक्रमण गर्ने पाटे बाघ एउटै हुनसक्ने भन्दै प्रमुख संरक्षण अधिकृत भट्टराईले यसबारे अनुसन्धान अगाडि बढाइएको बताए ।
‘आइतबार खड्कवारमा महिलालाई आक्रमण गरेर मार्ने पाटे बाघ र मंगलबार बालापुरमा आक्रमण गर्ने बाघ एउटै हुनुपर्छ’ उनले भने, ‘यसको पुष्टी गर्नको लागि दुवै ठाउँमा क्यामेरा जडान गरेका छौ ।’ दुवै घटनास्थलमा पाटे बाघका पाइला, महिलाका शरिरमा पञ्जा देखिएपछि पाटे बाघले नै आक्रमण गरेको भन्ने निष्कर्षमा निकुञ्ज पुगेको हो । पाटे बाघको आक्रमण बढेपछि स्थानीय बासिन्दाहरुले भने मान्छे खाने बाघलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन निकुञ्जलाई आग्रह गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्