सुर्खेत ।
पूर्व सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर ५ स्थित डाँडागाउँमा सांस्कृतिक मेला लाग्ने भएको छ । जनजागृती बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा कार्तिक २७ गते देखी मंसिर १ गते सम्म सञ्चालन हुने बताइएको छ ।
‘लेकवेशी बृहत कृषि उपज प्रदर्शनी पर्यटन, खेलकूद तथा साँस्कृतिक मेला’ भन्ने मुला नाराका साथ सुरु हुने मेलामा कृषि प्रदर्शनी, व्यापारिक, सांस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । ५ दिन सम्म सञ्चालन हुने मेलामा कृषि प्रदर्शनी, भलिबल प्रतियोगिता, लोक नृत्य, झाँकी प्रदर्शनी तथा स्थानीय एंवम राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने मेला संयोजक तथा जनजागृती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजित कुमार वैडेलले बताए ।
‘पहिलाका भन्दा व्यवस्थित रुपमा सञ्चालन गर्देछौ’ उनले भने, ‘मेलामा शान्तिपुर्ण र मर्यादित रुपमा सम्पन्न गर्नको लागि पुर्व तयारी गरिएको हो ।’ मेलामा विभिन्न प्रतियोगिताका विजेता टोलीहरुलाई नगद पुरस्कार दिने, उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने, एकल लोक प्रतियोगिता, पञ्जेबाजा प्रदर्शनी रहने छन् । भलिबल प्रतियोगतामा सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सम्पुर्ण स्थानीय तहको वडा स्तरिय प्रतियोगिता हुने बताए । साथै मेलामा जनवादी गाएक जीवन शर्माको विशेष प्रस्तुति रहने छ ।
मेलामा लेकवेशीका पर्यटकीय क्षेत्रहरु प्रचार प्रचार गर्ने, पौराणिक तथा आधुनिक ज्ञान सिप, कला संस्कृति, खेलकुद तथा कृषि व्यवसाय वृद्धि विकास गरी रमणीय गाउँ समाजको स्थापना गर्ने प्रचार प्रचार गर्ने लक्ष्य रहेको आयोजकको भनाई छ । मेला सञ्चालन गर्न १५ लाख ९२ हजार ४ सय लागत लाग्ने अनुमान गरिएको छ ।
आर्थिक सहयोगको लागि लेकवेशी नगरपालिका, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहयोगको लागि अनुरोध गरिएको आयोजकको भनाई छ । मेलामा ५० वटा स्टल रहने छन्, भने २० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्