कोहलपुर ।
बाँकेको नेपालगञ्जमा रहेको पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको आम्दानी बढ्दै जान थालेको छ । शनिबार पत्रकार सम्मेलन गरेर बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरको आय व्यय सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको आय व्यय अनुसार मन्दिरको आम्दानी बढ्दै जान थालेको देखिएको हो । समितिले पहिलोपटक मन्दिरको ऐतिहासिक पक्ष, आय व्यय विवरण मात्र होइन पुजापाठ गर्दा मन्दिर र पुजारीले पाउने रकम समेत सार्वजनिक गरेको थियो । गुठी व्यवस्थापन समितिका अध्यक्ष डा. धवल शमसेर राणाले पछिल्लो दुई आर्थिक वर्षयता बागेश्वरी मन्दिरको आम्दानी बढेको जानकारी दिए ।
‘हामीले गुठी समितिको नेतृत्व गरेदेखि मन्दिरको आम्दानी बढाउनको लागि विभिन्न उपायहरु खोजेका थियौं’ उनले भने, ‘सबैको सहयोगले मन्दिरको आयस्रोत बढ्दै जान थालेको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका प्रमुख समेत रहेका गुठी समितिका अध्यक्ष राणाले मन्दिरको आम्दानी बढाउन नयाँ स्रोतको खोजी गरिएको बताए । पहिलोपटक मन्दिरको आय व्यय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीको समेत सहभागिता रहेको थियो । पछिल्लो दुई वर्षको अवधिमा समितिले विद्यूत् प्राधिकरणलाई बाँकी रहेको १७ लाख रुपैयाँ महसुल बुझाइसकेको छ ।
गुठीका अध्यक्ष राणाले मन्दिरको बाँकी विद्यूत् महसुलसहित हनुमान गढी मन्दिरको समेत बाँकी महसुल बुझाइएको जानकारी दिए । गुठी समितिले उपलब्ध गराएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३÷०७४ सम्म मन्दिरको नाममा बैंकमा १६ लाख ३८ हजार ७ सय ८६ रुपैयाँ थियो । तर गत आर्थिक वर्ष २०७५÷०७६ मा बैंकमा २१ लाख १० हजार १ सय ६५ रुपैयाँ जम्मा भएको छ । समितिका अनुसार हाल मन्दिरको नामा बैंकमा १२ लाख फिक्स डिपोजिट रहेको छ । ‘मन्दिरमा भएकै आम्दानीलाई व्यवस्थापन गरेर नै उपलब्धी भएको हो’ गुठी समितिका अध्यक्ष राणाले भने, ‘मन्दिर व्यवस्थापनका लागि अन्य कामहरु समेत हामीले जारी राखेका छौं ।’
गुठी समितिका सचिव गोपालप्रसाद अधिकारीले मन्दिरको नगद मात्र नभई सुन÷चाँदीका गरगहना समेत बढेको जानकारी दिए । उनका अनुसार २०७४ सम्म मन्दिरमा २० केजी ३ सय ४ ग्राम चाँदी, दुई तोला सुन थियो भने दुई वर्षको अवधिमा सुनको आखिया २ थान, नथुनी २ थान, तार १, तिलहरी ४ र बन्दिनीया १ थान जम्मा भएका छन् । त्यसैगरी मन्दिरमा चाँदीका विभिन्न १४ थान गहनाहरु थपिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मन्दिरमा अब सन्ध्याकालिन आरती नियमित सञ्चालनका लागि समेत तयारी भईरहेको गुठीका सचिव अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा मन्दिरको नाममा रहेको जग्गासमेत सार्वजनिक गरिएको थियो । नगर उपप्रमुख उमा थापा मगरका अनुसार साविक इन्द्रपुर गाविसमा रहेको ८४ विघा जग्गा रैतान नम्बरी कायम भई ३०० बढिको नाममा नामसारी भएको छ । मन्दिरको चलअचल सम्पत्ति खोजबीन तथा संरक्षण उपसमिति संयोजक समेत रहेकी थापाका अनुसार हाल खजुराखुर्दमा मन्दिरको नाममा ३ विघा १६ कठ्ठा र परसपुरमा ३ कठ्ठा १ धुर जग्गा देखिएको छ ।
मन्दिर रहेको स्थानमा एक विघा १८ कठ्ठा जग्गा रहेको छ । मन्दिरको आयस्रोत मजबुत बनाउन मन्दिरका नाममा रहेका जग्गाको खोजी कार्य भइरहेको उनले बताइन् । ‘यो विषयमा केन्द्रीय अध्ययन समितिले समेत अनुसन्धान गरिरहेको छ’ उनले भनिन्,‘हामी पनी मन्दिरको जग्गा खोज्ने काम थालिरहेका
छौं ।’ मन्दिरको आयस्रोत बढाउन पुजापाठ, पक्की सटर निर्माणको कामलाई प्राथमिकता दिइएको गुठी समितिले जनाएको छ । विगतमा बागेश्वरी मन्दिरको आय व्ययलाई लिएर विवाद हुने गरेको थियो । मन्दिरमा मात्र भक्तजनहरुले चढाएको भेटी, सुन चाँदी लगायतका सम्पत्ति लाखौं महिनामा लाखौं हुने गरेको बताइन्छ ।
सरोकारवालाहरु गुठीले पत्रकार सम्मेलन गरे आफ्नो आय व्यय प्रस्तुत एकदमै सकारात्मक भएको बताएपनि अझै मन्दिरको आम्दानी पारदर्शी बताउनुपर्ने आवश्यता रहेको बताउछन् । मन्दिरको नियमित आयश्रोतको रुपमा मन्दिरको जग्गामा निर्मित सटर, पसलहरु भाडामा दिएवापत प्राप्त हुने भाडा रकम, मालपोत, वोटिङ्ग संचालनबाट प्राप्त हुने रकम, श्रद्धालु भक्तजनबाट प्राप्त हुने दान–दक्षिणा, सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्थाबाट प्राप्त हुने आर्थिक सहयोग, व्यक्तिगत तथा संस्थागत रुपमा प्राप्त हुने आर्थिक सहयोग नै रहेको छ ।









प्रतिक्रिया दिनुहोस्