अपाङ्गता परिचयपत्र वितरण गर्दै कोहलपुर नगरपालिका



डिल्ली शाही, कोहलपुर।

बाँकेको कोहलपुर नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकामा रहेको अपाङ्गता समन्वय समितीले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न भागमा विभाजन गरेर अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यलाई तिव्र पारेको हो । अपाङ्गताको प्रकृति र मात्राको आधारमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा, सुविधा र अवसरको प्राथमीकरण गर्ने उद्देश्यले परिचयपत्र वितरण कार्य तिव्र पारिएको समितीले जनाएको छ ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले नगरभित्र ७ सय ९० जना अपाङ्गता भएका व्यक्तिहरु रहेको जानकारी दिइन् । ‘नगरमा विभिन्न प्रकृतिका ७ सय ९० जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन्’ नगर अपाङ्गता समन्वय समिती संयोजक समेत रहेकी चौधरीले भनिन्, ‘नगरपालिकाले सहज रुपमा अपाङ्गता परिचयपत्र पाउने गरी वितरण गरिरहेको छ ।’ गत आर्थिक वर्ष २०७५÷०७६ मा कोहलपुर नगरपालिकामा कति अपाङ्गता भएका व्यक्तिहरु छन् भनेर तथ्यांक संकलन गरिएको समिती संयोजक चौधरीले जानकारी दिइन् ।

तथ्यांक संकलनको क्रममा अपाङ्गता भएका व्यक्तिहरुले यात्रा गर्दा, स्वास्थ्य, शिक्षा लगायतका सेवाहरु अझै सहज तरिकाबाट लिन नपाउने गरेको पाइएको उनले बताइन् । अहिले नगरपालिकाले प्रत्येक महिनाको ५ र २५ गते नगर महिला तथा बालबालिका शाखाबाट अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको छ । नगर उपप्रमुख चौधरीका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ को जेष्ठबाट परिचयपत्र वितरण भएतापनि अपाङ्गता भएका व्यक्तिहरुले भने आफ्नो परिचयपत्र लिन नसकिरहेको बताइन् ।

‘अपाङ्गता भएका व्यक्तिहरुलाई सहज र सरल तरिकाबाट परिचयपत्र हातमा नै पु¥याउने प्रयासमा लागिरहेका छौं, ‘उनले भनिन्, ‘अब प्रत्येक वडाहरुमा अपाङ्गता वितरण घुम्ती शिविर सञ्चालन गरी सबैको हातमा परिचयपत्र पु¥याउछौं ।’ नगर अपाङ्गता समन्वय समितीले अपाङ्गता परिचयपत्र चार प्रकृतिमा वर्गीकरण गरी बाँडिरहेको जनाएको छ । समिती संयोजक समेत रहेकी चौधरीका अनुसार रातो, निलो, पहेलो र सेतो गरी चार प्रकृतिका अपाङ्गगता परिचयपत्र वितरण गरी राखिएको छ ।

नगरपालिकामा अहिले रातो ५२, निलो १२६, पहेला ४०, सेतो २० जनाले अपाङ्गगता परिचयपत्र लिईसकेको उनले जानकारी दिइन् । ‘रातोलाई पूर्ण अशक्त अपाङ्गता भएको व्यक्ति मान्छौ’ नगर उपप्रमुख चौधरीले भनिन्, ‘निलोलाई अति अशक्त, पहेलोलाई मध्यम र सेतोलाई सामान्य अपाङ्गता भएको व्यक्ति हुन ।’ अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले करमा छुट दिएको छ भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ओपिडी सेवाहरु निःशुल्क पाउने व्यवस्था मिलाइएको छ । कोहलपुर नगरपालिकाका अझै पनी ५ सय ५२ जनाले आफ्नो अपाङ्गता परिचयपत्र लिन बाँकी रहेको नगर महिला तथा बालबालिका शाखाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २९ गते आइतबार