निर्णय कार्यान्वयन गरौं



बाँकेको कोहलपुरमा रहेका अतिक्रमित संरचना हटाउने भनेर विभिन्न समयमा निर्णयहरु गर्ने गरिन्छ । ती अधिकांश निर्णयहरु कहिल्यै कार्यान्वयनमा भने आउँदैनन् । कोहलपुर नगरपालिका र कोहलपुर नगर विकास समितीले अतिक्रमित भएका सार्वजनिक जग्गा खाली गर्ने भनेर निर्णय गर्ने गरेका छन् । विभिन्न मिडियामा सार्वजनिक सुचना, भित्ता सुचना टाँस्ने लगायतका काम ती निकायहरुले गर्छन् । तर अहिलेसम्म औलामा गन्न सकिने निर्णय मात्रै कार्यान्यवनमा आएको पाइन्छ । कोहलपुर चौराहाका पसलहरु नगरपालिकाले हटाएपनी अहिले भने हालत उस्तै छ । सुन्दर चौराहा बनाउँदै भन्दै आसपासका जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी संरचनाहरु सुरक्षा निकायको साथ लिएर केही बर्ष पहिले नगरपालिकाले हटाएको थियो ।

तर अहिले फेरी पनी अस्थायी संरचना बनाएर व्यवसायीहरुले व्यवसाय गर्न थालिसकेका छन् । अझ कोहलपुर नगर विकास समितिले भने टेण्डर मार्फत सर्वसाधारणलाई बेचेका घडेरीहरु अझैसम्म पनी खाली गर्न सकेको छैन । सर्वसाधारणबाट पैसा लिएर पनी खर्च गरिसकेको नगर विकास समितीले घडेरी भने अझै खाली बनाउनेतर्फ ध्यान दिएको पाइदैन । पटक पटक नगर विकास समितीले बिक्री गरिसकेका घडेरीहरु खाली गराउने भनेर निर्णय गरेपनी कार्यान्वयनमा भने पदाधिकारीहरुले जागर चलाउन सकेका छैनन् । बैकबाट लाखौं रुपैयाँ ऋण लिएर बढी बढाउ गरेर घडेरी लिएका व्यक्तिहरुले दुई बर्ष हुँदा सम्म पनी प्रयोग गर्न पाइरहेका छैनन् । २०७४ असोज २३ गते घडेरी बिक्रीको बोलपत्र अनुसार कोहलपुर नगर विकास समितीबाट टेण्डर मार्फत कित्ता नम्बर २४३, २४४, २६१, २६८, २७९, ३५१, ३५२, ३५३, ३५४ र ३५५ का घडेरीहरु विभिन्न व्यक्ति तथा संघ संस्थाले खरिद गरेका थिए ।

उनीहरुले नगर विकास समितीमा आफुले खरिद गरेका घडेरीको ४ किल्ला छुट्याई पाउ भनी निवेदन दिदा पनी सुनुवाई हुन सकेको छैन । बैकबाट लाखौं रुपैयाँ ऋण लिएर घडेरी किनेकाहरु नगर विकास समितीले खाली गर्न नसक्दा समस्यामा परेका छन् । नगर विकास समितीबाट बैधानिक रुपमा नै घडेरी खरिद गर्दा सम्म पनी पैसा बुझेको नगर विकासले खाली गरिदिनुपर्ने आफ्नो दायित्व भने बिर्सिएको
छ । फेरी पनी केही दिनअघि बसेको समितीको बोर्ड बैठकले औपचारिकता निभाउनको लागी खाली गर्नको लागि सुचना निकाल्ने निर्णय गरेको थियो । कमजोर निर्णय गरेको बोर्ड बैठकले १५ दिने सुचना निकाल्दा समेत उक्त कित्ता नम्बरमा रहेका संरचना खाली नभए राजनितिक दलहरुसँग बैठक गर्ने भनिएको छ ।

बोर्ड बैठकले पैसा लिइसकेका घडेरीहरु जसरी पनी खाली गर्नुको साटो खाली नभए राजनितिक दलको साथ लिने निर्णयले समिती चुकेको छ । यो निर्णयले लाखौ रुपैयाँ घडेरीबाफत समितीलाई बुझाइसकेका व्यक्तिहरु फेरी मर्कामा परेका छन् । समितीले अनेक नाममा घडेरी खाली गर्ने आश्वसन देखाउनु भन्दा पनी आफ्नो नैतिकता देखाउँदै छिटो भन्दा छिटो पैसा लिइसकेको घडेरीहरु खाली गराउन आवश्यक देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ४ गते बुधबार