लागूऔषध दुव्र्यसनबाट फर्किएकालाई रोजगारी आवश्यक



नेपालगञ्ज ।
लागूऔषध दुव्र्यसनीमा फसेकालाई परामर्श सेवापछि सीपमूलक काममा लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । परामर्श पछि सीपमूलक काममा लगाउन सके उनीहरुले नयाँ जिवन पाउने कुरा सरोकारवालाहरुले जोड दिएका हुन् । बुधबार बाँकेको नेपालगञ्जमा गरिएको एक बैठकमा बोल्ने सहभागीहरुले उक्त कुरा औल्याएका थिए ।

कुनै सीपमुलक काम नपाउँदा युवा युवतीहरु फेरी दुव्र्यसनमै फस्ने गरेको सरोकारवालाहरुले बताए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनचेतनामूलक कार्यक्रम, परामर्श सेवा हुँदै त्यस्ता व्यक्तिहरुलाई सीपमुलक काममा लगाउन जोड दिनुपर्ने बताए । ‘लागूऔषध दुव्र्यसनीमा फसेकालाई परामर्श सेवा आवश्यक हुन्छ’ उनले भने, ‘उनीहरुलाई परामर्श सेवा लगत्तै सीपमुलक काममा लगाउन आवश्यक देखिन्छ ।’ बैठकमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले लागूऔषध दुव्र्यसनीको समस्या भयावह बन्दै गएको बताउँदै समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

‘जिल्लामा लागुऔषध दुव्र्यसनीको समस्या भयावह बन्दै गइरहेको छ’ उनले भने, ‘प्रहरी मात्रैको प्रयासबाट मात्रै न्यूनिकरण गर्न सम्भव देखिदैन । त्यसैले यसको समाधानको लागी सबैको साथ जरुरी छ ।’ मेथाडोन कार्यक्रम सञ्चालन गरिरहेको परिवर्तन समूहकी कार्यक्रम अधिकृत इन्द्रा जिसी रावलले मेथाडोन सञ्चालन पछि धेरै जिवनमा परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘नयाँ जिवन पाएकाहरुलाई कुनै काममा जोड्न सके धेरै राम्रो हुन्थ्यो । त्यसो हुन सके लागू औषध बिरुद्ध गरेका कार्यक्रम प्रभावकारी देखिन्थ्यो ।’ भेरी अन्चल अस्पतालमा सञ्चालन भएको मेथाडोन पद्धती प्रभावकारी बनेको छ । बैठकमा प्रहरी, प्रशासन, स्वास्थ्य तथा दूव्र्यसनका बिरुद्धमा सक्रिय संघसंस्थाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ९ गते बिहीबार