राष्ट्रपती रनिङ शिल्डको उपाधी दाङलाई



कोहलपुर ।

५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबारदेखि पाल्पामा शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । १६ स्वर्ण १४ रजत र ११ काँस्य गरि कुल ४१ पदक जित्दै दाङ जिल्लाले रनिंग शिल्डको ट्रफी उचालेको छ । त्यस्तै १० स्वर्ण ७ रजत र ११ काँस्य गरि कुल २८ पदक जित्दै बाँके जिल्ला दोस्रो तथा ८ स्वर्ण ४ रजत गरि कुल १२ पदक जित्दै रोल्पा जिल्ला तेस्रो हुन सफल भए ।

शुक्रबार सम्पन्न भएको खेल अन्तरर्गत भलिबल पुरुषतर्फ पाल्पा प्रथम, रोल्पा दोस्रो तथा रुपन्देही तेस्रो भएका थिए । महिलातर्फ रुपन्देही प्रथम, दाङ दोस्रो तथा पुर्ब रुकुम तेस्रो भए । कपर्दी पुरुषतर्फ नवलपरासी प्रथम, दाङ दोस्रो तथा अर्घाखाँची र रुपन्देही तेस्रो हुन सफल भएका थिए । महिलातर्फ नवलपरासी प्रथम, दाङ दोस्रो तथा अर्घाखाँची र बर्दिया तेस्रो भए । एथ्लेटिक्समा दाङ प्रथम, बाँके दोस्रो तथा बर्दिया तेस्रो भए । यस अघि तेक्वान्दो र उसुमा बाँके तथा करातेमा रोल्पा प्रथम भईसकेका थिए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, ५ नम्बर प्रदेशको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रदेश प्रतियोगिताबाट छनौट भएका १०५ जना खेलाडी यहि असार २९ गतेदेखी काठमाडौंमा आयोजना हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेको छ ।

विजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती ५ नम्बर प्रदेशका उपाध्यक्ष नरेन्द्र थापा, पाल्पा नगरपालिकाका प्रमुख अशोक कुमार शाही, खेलकुदका क्षेत्रीय सदस्य चन्द्रमणी गैरे, वसन्त जिआर, जिल्ला खेलकुद बिकास समिती पाल्पाका अध्यक्ष करुणा काफ्ले लगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २८ गते शनिबार