‘अनुसन्धानमा दवाव स्वीकार्य हुँदैन’ः एसपी ओली



नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले कुनै पनी घटनाको अनुसन्धानमा दवाव स्वीकार्य नहुने बताएका छन् । जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको १४ औं दिनमा बार्षिक कार्ययोजना सार्वजनीक गर्दै बुधबार उनले यस्तो बताएका हुन् ।

प्रदेश ५ सशस्त्र प्रहरी गण कोहलपुरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय बाँकेमा आएसँगै आफ्नो जिम्मेवारी क्षेत्रभित्र भएका समस्या समाधानका लागि उनले ११ बुँदे कार्ययोजना सार्वजनीक गरेका छन् । नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै सेवाग्राहीलाई छिटो, सरल र सहज सेवा प्रवाह, सामाजिक विकृति, विसंगति न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने, लैङ्गिक एवं घरेलु हिंसा, बोक्सी आरोप, जातिय छुवाछुत, बालविवाह, मानव बेचविखन तथा लागुऔषध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन जस्ता विषयहरुलाई बार्षिक कार्ययोजनामा समेटिएको छ ।

त्यस्तै पछिल्लो समयमा मौलाइरहेको संगठीत अपराध, गुण्डागर्दी, जुवातास, गठी, बलात्कार लगायतका अपराधजन्य विषयहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने कार्ययोजनामा उल्लेख गरिएको छ । सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन, चोरी निकासी तथा पैठारी नियन्त्रण गर्दै अपराध शुन्य समाज निर्माणका लागि अघि बढ्ने कार्ययोजनामा प्राथमिकताका साथ ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताए । बस्तुनिष्ठ अनुसन्धान, फरार अभियुक्तको खोजतलास र अदालती फैसला कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेर अघि बढिसकेको उनले जानकारी दिए ।

‘सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ धेरै किसिमका जटिलताहरु छन्, प्रहरी उपरिक्षक ओलीले भने, ‘थुप्रै जटिलता हुँदाहुँदै पनि यहाँभित्र रहेका समस्याहरूलाई चिर्नु प्रमुख दायित्व हुन्छ ।’ अनुसन्धानमा दवाव स्वीकार्य नभएको भन्दै आफ्नो कार्यकाललाई विवादरहित बनाउने उनले दावी गरे । ‘पछिल्लो समय समस्याका रूपमा यस्ता विषयहरु देखापरेका छ ।

यसले भोलीका दिनमा संगठित अपराधलाई बढावा दिने भएकाले सुरुमै यस्ता कुरालाई निष्तेज पर्नुपर्छ,’ उनले भने । विगतमा भएका घटनाहरुका बारेमा पनि गम्भीर अध्ययन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन आफ्नो निरन्तर प्रयन्त हुने उनले बताए । प्रहरी उपरिक्षक ओलीले भने, ‘हामीले कानुन कार्यान्वयन गराउने हो, कसैले कानुन विपरितका कार्यहरु गर्छ भने हामी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सधैं प्रयत्नरत रहन्छौं, यसका लागि सबैको सहयोग र सहकार्य जरुरी छ ।’

पछिल्लो समयमा सामाजिक विकृति निकै बढी देखिएको र यसले सिर्जित अपराध बढ्दै गएको उनको भनाई छ । सामाजिक विकृतिअन्तरगत सामाजिक सञ्जालको दुरुपयोग, लागुऔषधको कुलतमा नपर्न युवाहरुलाई आग्रह गर्दै यस बिषयमा जनतचेतना तथा कानुनी कारबाही दुवैलाई सँगसँगै अघि बढाउने प्रहरी उपरीक्षक ओलीको योजना छ । ‘सामाजिक अपराधको तथ्यांकलाई न्यूनीकरण गर्नु पनि मेरो एउटा अभियानको रुपमा रहनेछ,’ उनले भने । बाँकेमा आर्थिक अपराध पनि ठूलो समस्याको रुपमा देखिएको उनको भनाई छ ।

‘आर्थिक अपराध, जसअन्तरगत एउटा लेनदेनवाला आर्थिक अपराध, अर्को ठगीका घटना । ठगीका घटनामा सशक्तरुपमा अभियान चलाएर संलग्नलाई कानुनी दायरामा ल्याउँछु,’ प्रहरी उपरीक्षक ओलीले भने, ‘हामीकहाँ समस्या सम्बोधन भएन भन्ने कतिपय गुनासा पनि आउने गरेका छन् । त्यस्ता गुनासा नआउने किसिमले सेवाग्राहीमैत्री वातावरण बनाउने छु ।’

  • No tags available
प्रकाशित मिति : २०७६ असार २६ गते बिहीबार