रोपाइँमाथि डोजर कुदाउने अध्यक्ष भन्छन्ः पाठ सिकियो



बझाङ ।

बझाङ खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलमा सडक खन्न प्रयोग गरेको डोजर फिर्ता भएको छ। खेत कोतर्न रोकिएको छ । रोपाइँको खेत हुँदै मध्यबर्खामा कुदेको डोजरले २० किसानको खेत मात्र बिगारेको थिएन, तीन वटा खानेपानी आयोजना र कुलो पनि भत्काएको थियो । यसबारे समाचार आएपछि स्थानीय प्रशासनले सडक खन्ने काम रोक्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङले सडक निर्माण उपभोक्ता समिति अध्यक्ष सुरेन्द्रबहादुर सिंहलाई सदरमुकाम बोलाएर डोजर फिर्ता गर्न निर्देशन दिएको थियो । बुधबार सडक खन्ने क्रममा खेत, कुलो र तिउने राजकोट खानेपानी, खापर दुधिर खानेपानी तथा ठण्डापानी पूजारी गाउँ खानेपानी आयोजनाका पाइप तोडिएका थिए । सुदूरपश्चिम प्रदेश सरकारको योजना अन्तर्गत यो सडको खनिएको थियो । सडक खन्न सुरू गरे पनि पूरा गर्न नपाएको लम्तडा–कालुखेती–थामलेक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सिंहले बताए ।

‘साढे ९ किलोमिटर सडकको नयाँ ट्रयाक खन्नु पर्ने हो । एक किलोमिटर बाँकी छँदै डोजर फिर्ता पठाइयो,’ अध्यक्ष सिंहले भने, ‘चार पटक सर्भे गरी गाउँलेसँग छलफल गरेर सडक खने पनि विरोध भयो ।’ तर यसपालि गाँउलेसँग सल्लाह नगर्नु र हतारमा सडक खन्नु कमजोरी भएको उनले स्वीकारे । भत्किएको कुलो र खानेपानी योजना बनाइदिने सहमति भैसकेको पनि बताए । ‘भत्किएको कुलो र खानेपानीका पाइप मर्मत गरिदिन्छौं भनेको हो,’ उनले भने, ‘मर्मत गर्न पाइप किनिसकिएको छ ।’

खानेपानी आयोजना मर्मतका काम भइराखेको र सिँचाइ कुलो मर्मत गरेपछि किसानले खेत रोप्न पाउने उनले बताए । मध्य वर्षामा डोजर चलाउने काम कसरी भयो, सडक खन्न किन बर्खा पर्खेनु परेको भन्ने प्रश्नमा उनले बजेट नै ढिलो आएको बताए । आर्थिक बर्षको अन्तिममा बल्ल जेठ १० गते प्रदेश सरकारसँग उपभोक्ता समितिले सडक खन्न सम्झौता गरेको जानकारी उनले दिए । ‘सम्झौता गर्न ढिलो भयो । असार २५ सम्म खनिसक्नुपर्ने थियो हतार भएकै हो,’ उनले भने । बर्खामा ट्रयाक खन्ने बजेटमात्र आएको पनि उनले स्वीकारे ।

खनिएको सडकलाई ग्राभेल गर्ने बजेट नभएको उनले बताए । ‘अहिलेको बजेट नयाँ ट्रयाक खन्नका लागि हो । त्यही पनि पूरा काम गर्न पाइएन । पछि काम गर्ने गरी अहिले डोजर फिर्ता गरियो,’ उनले भने । अहिलेको घटनाले गाउँलेहरूको सहमतिमा विकासका काम गर्ने पाठ सिकेको उनले बताए । ‘केही कमजोरी भयो । पाठ सिकियो । गाउँलेलाई हानी नपुग्ने गरी विकासका काम गर्नुपर्ने रहेछ,’ उनले भने । बझाङको यो घटना बजेट सक्न गरिने ‘असारे विकास’को नमूना भएको छ । बर्खामा रोपाईं भएको खेतको बिचबाट ट्र्याक खोलेर छाडेपछि त्यो सडक बर्खा सकिन्जेलमा पुरिइसक्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २३ गते सोमबार