अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यू



मुग ।

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–१ चिताई गाउँकी ३५ वर्षीया एक सुत्केरी महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । सुत्केरी भई छोराको जन्म दिइसकेपछि साल नझर्दा उनको मृत्यु भएको हो । मुगुम कार्मारोङ गाउँपालिका–१ कि ३५ वर्षीया पासङ फुटिक तामाङले असार १६ गते आफ्नै घरमा छोरा जन्माएकी थिइन् । छोराको जन्म भइसकेपछि साल नझरेको र अत्याधिक रक्तश्राव भएपछि असार १७ गते उनको घरमा नै मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

घरमा नै सुत्केरी बेथा लागेपछि गाउँमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले सुत्केरी गराएका थिए । बच्चा जन्मे पनि साल निस्किन सकेको थिएन । आमाको मृत्यु भएपछि जीवित अवस्थामा रहेको नव जात शिशुको विचल्ली भएको छ । मृतक सुत्केरी तामाङका अन्य तीन सन्तान पनि साना रहेका छन् । यस गाउँका लागि डोल्फु गाउँको स्वास्थ्य चौकीको कार्य क्षेत्र भए पनि एक दिन लाग्ने र स्वास्थ्यकर्मी पनि नभएकाले तत्काल उपचार गराउन अन्यत्र लिन नसकिएको स्थानीयवासीले बताएका छन् ।

चिताई गाउँदेखि जिल्ला अस्पताल पुग्न दुई दिन चिताई गाउँदेखि पायक पर्ने पुलु स्वास्थ्य चौकी पुग्न पाँच घण्टा लाग्ने भएकाले पनि चिताई गाउँका स्थानीयवासी न्यूनतम स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको चिताइ गाउँका स्थानीयवासी एवं एक नम्बर वडाध्यक्ष सोनामयाङ्गजु तामाङले बताए । गाउँका सबैजना यार्सा टिप्न पाटनमा गएका, गाउँमा बृद्धबृद्धा मात्रै रहेका र मौसम पनि खराब रहेका कारण पाँच घण्टा नजिक पर्ने स्वास्थ्य संस्थामा लैजान नसकिएको उनले बताए । मुगुमकर्मारोङ गाउँपालिकाकामा मुगु, किम्री, पुलु, र माँग्रीमा प्रसूति गृह रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार १९ गते बिहीबार