सिकलसेलका बिरामी खोज्दै कोहलपुर नगरपालिका, ४४४ जनाको रक्त नमुना संकलन



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेल एनिमिया रोग पहिचानको लागी ४ सय ४४ जनाको रक्त नमुना संकलन गरेको छ । साताव्यापी रुपमा अभियान सञ्चालन गरेर नगर स्वास्थ्य शाखाले १० सामुदायिक विद्यालयबाट रगतको नमुना संकलन गरेको हो । स्वास्थ्य शाखाका उप–संयोजक विद्यासागर मैनालीका अनुसार रक्त नमुना संकलन अभियान आइतबारबाट सम्पन्न भइसकेको छ । गत आर्थिक बर्ष २०७४÷७५ मा स्वास्थ्य शाखाले १ हजार ३ सय ५२ जना विद्यार्थीको रगत संकलन गरेर परिक्षण गर्दा १ सय ५२ जनामा पोजिटिभ देखिएको थियो । अहिले नगरका १० विद्यालयमा पुगेर स्वास्थ्यकर्मीको समुहले उनै १सय ५२ जना विद्यार्थी तथा उनीहरुका परिवारका सदस्यहरुको रगत संकलन गरेको हो । संकलन गरिएको रगतको नमुनाको परिक्षणको लागी ल्यावमा पठाइएको नगर स्वास्थ्य उप–संयोजक मैनालीले जानकारी दिए । ‘४४४ जनाको नमुना संकलन गरेर ल्याव टेस्टको लागी नेपालगन्ज पठाइएको छ’ उनले भने, ‘केही हप्तामा रिपोर्ट आएपछि पहिलेको भन्दा फरक छ कि छैन भनेर पत्ता लाग्नेछ ।’ उनका अनुसार यसपटक स्क्रिनिङ तरिकाबाट सिकलसेल एनिमियाको परिक्षण गरिने छ । नगर भित्र रहेका विभिन्न १० वटा सामुदायिक विद्यालयमा शिविर गरेर थारु समुदायका विद्यार्थी तथा उनीहरुका अभिभावकको रगत नमुनाको रुपमा संकलन गरिएको थियो ।

सिकलसेल रोगको न्युनिकरण गर्ने नेपाल सरकारको वार्षिक कार्यक्रम अन्तरर्गत नगर स्वास्थ्य शाखाले पनी रक्त परिक्षण शिविर सञ्चालन गरेको बताएको छ । ‘सिकलसेल नेपालका थारु समुदायमा मात्रै देखा पर्ने बंशानुगत रोग हो’ उप–संयोजक मैनालीले भने, ‘सिकलसेल भएका आमाबाबाबाट जन्म लिएका हरेक बालकालिका जन्मजात सिकलसेल रोग बोकेर जन्मिन्छन् । सिकलसेल रोग भएका व्यक्तिमा रक्त संचारमा अवरोध हुने, अत्यधिक दुखाई, श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, थकाई महशुस हुने सिकलसेलका लक्षण हुन् ।’ रोगलाई पुर्ण निधान गर्न नसकिने भएपनि औषधीका माध्यमबाट न्युनिकरण गर्ने गर्न सकिन्छ ।

सिकलसेल एनिमिया रोग बारे बालबालिकामा चेतना बढाउने, अवस्था पत्ता लगाउने उद्देश्यले साताव्यपी अभियान गरिएको उनले जानकारी दिए । जनता मावि मैटहवा, सगरमाथा मावि किरणनाला, लक्ष्मी मावि, सिद्वार्थ मावि रझेना, त्रिभुवन मावि, ज्ञान ज्योती मावि, नेपाल राष्ट्रिय मावि श्री राम मावि र नेपाल राष्ट्रिय आधारभुत विद्यालय चटारमा शिविर सञ्चालन गरेर रक्त नमुना संकलन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २० गते सोमबार