१२ औं गणतन्त्र दिवसदिवसबारे बेखबर मजदुर



शुभाकर विश्वकर्मा ।

कोहलपुर ।
दाङका ४५ बर्षिय लेखक नेपालीले कोहलपुर चौराहाको सडक छेउमा जुत्ता सिलाउन थालेको १० बर्ष भइसक्यो । हाल कोहलपुर, ११ मा बस्दै आएका उनको जुत्ता सिलाउने दैनिकी घामको झुल्कासँगै शुरु हुन्छ । तर उनी देशभर भव्यताका साथ १२ औं गणतन्त्र दिवस मनाईरहदा बेखबर थिए । बुधबार बिहान चौराहामा बाजागाँजासहित ठूलो समुह आइपुगेको देखेपछि मजदुर नेपालीले अरुलाई सोधेर थाहा पाए आज त गणतन्त्र दिवस रहेछ भनेर । उनले अधिकार प्राप्तिका विभिन्न आन्दोलनमा प्रत्यक्ष सहभागी नभएपनि जनता स्तरमाबाट भएका केही आन्दोलनमा भने सहभागिता जनाएका थिए । देशमा ‘गणतन्त्र, संघियता आयो भन्छन्, मैले खासै परिवर्तन भएको महशुस गरेको छैन’ उनले भने, ‘गाउँ गाउँमा सिंहदरबार आयो त भन्छन्, हामी जस्ताको घरमा के सिंहदरबार आउँथ्यो र ।’ दिनप्रतिदिन जातीय विभेद, हत्या, बलात्कार र हिंसा बढिरहेका छन् ।’

आफ्नो नाम सराफ बताउने चप्परगौडीका १० वर्षीय बालक चौराहामा भईरहेको कोण सभामा सहभागिहरुले प्रयोग गरेका पानीका बोतल संकलन गर्दै थिए । उनी जस्तै साथीहरु नेपालको झण्डा बोकेर ¥याली सहभागी भइरहदा उनीहरुको काँधमा बोलत बोक्ने बोरा थियो । कसैले पानी पिएपछि फाल्ने आशामा मलिन अनुहार लिएर काँखैमा जान्थे उनी । सराफ दिनमा चार सय रुपैयाँ थोत्रा बोतल संकलन गरेर कमाउछन् । उनी झट्ट हेर्दा सडक बालबालिकाको हुलियामा थिए । कोहलपुरमा उनी जस्तै बालबालिकाहरुलाई दिवस भन्दा पनी पेटको चिन्ता थियो । नेपाली र सराफ त एक प्रतिनिधि उदाहरण मात्रै हुन् । उनी जस्तै सयौ कामगरी खाने वर्गलाई गणतन्त्र दिवस बारे कुनै जानकारी छैन् । १२ औँ गणतन्त्र दिवसको अवसरमा कोहलपुर नगरपालिकाको आयोजनामा गरिएको प्रभात फेरी कार्यक्रममा अधिकांश विद्यार्थी र केहि जनप्रतिनिधि मात्रै सहभागी देखिन्थे । अन्य स्थानीय तहहरुले गरेको कार्यक्रममा समेत यो भन्दा फरक दृव्य देखिएन ।

प्रभातफेरी पश्चात चौराहामा कोण सभा भयो । व्यस्त चौराहामा व्यवसाय गर्ने सयौं मजदुर वर्ग आफ्नै काममा व्यस्त थिए । कोण सभामा बोल्ने वक्ताले गणतन्त्र प्राप्ती नेपालका मजदुर र भुमिहिन समुदायको पक्षमा रहेको भन्दै चर्को भाषण गरे । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले संविधान र संघियताको मर्म अनुसार कोहलपुर नगरपालिका जनताको घरदैलोमा गएर सेवा दिईरहेको दाबी गरे । ‘प्राप्त अधिकारको सस्थागत गर्न र जनताको आवश्यकता अनुसार हामी प्रयत्नशिल छौ’ उनले भने । प्रभातफेरीमा स्थानीय जनप्रतिनिधी, स्थानीयबासी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ १६ गते बिहीबार