५० शैयाको अस्पताल बन्दै



मुगु ।

मुगुमा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाली सहयोग नियोग(कोइका)को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माणाधीन भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ । २०७३ साउन अन्तिम सातादेखि निर्माण कार्य थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम मात्र बाँकी रहेको छ ।

लुम्बिनी बिल्डर्सले निर्माण कार्यको जिम्मा लिइएको भवनको स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने भित्री भागको फिनिसिङ, रंगरोगन, पर्खाल, पानी ट्यांकीलगायत काम धमाधम भइरहेको छ । कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँर अनुसार २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भए पनि सडक बन्द, सामना ढुवानीमा समस्याका कारण पुस मसान्तमा मात्र निर्माण कार्य सकिने छ ।

अस्पातल भवन तीनतले र ६० कोठा रहेको छ । अस्पताल अपाङ्गमैत्री, पर्याप्त शौचालय, बगैंचा र पर्याप्त पार्किङ सुविधासहितको भवन रहेको कोइकाले जनाएको छ । अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ ।

कोइकाका अनुसार अस्पताल भवन भूकम्पप्रतिरोधी हुनेछ । अस्पताल भवन निर्माणपछि २० करोड रुपैयाँ बराबरको उपकरण राखिने जनाइएको छ । एक्सरे, भिडियो एक्सरे, ल्याबलगायत मुगुमै जटिल रोगको शल्यकृया गर्ने व्यवस्थासहित उपकरण खरिद गरी अस्पताललाई हस्तान्तण गरिने कोइकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ९ गते बिहीबार