पाल्पा ।
पाल्पामा बम विस्फोट नै भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । रुपन्देहीको कोटिहवा(बाउन्नकोटी) सडकमा पनि शंकास्पद वस्तु फेला परेको छ । बम आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । कार्यालयको गेट अगाडि कालो प्लाष्टिकमा राखिएको कुकरमा बम लेखिएको छ । शंकास्पद वस्तु भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुश्वाहाले जानकारी दिए ।
मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।
कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ । गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद बस्तु भेटिएको हो । बम भेटिएको सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।









प्रतिक्रिया दिनुहोस्