आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाँसगढीमा राष्ट्रिय कबड्डी



रावन बिश्वकर्मा, बाँसगढी ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गत बर्दियाको बाँसगढीमा शनिबार देखि राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ । २३ औँ पुरुष र १८ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको संघिय सांसद तथा ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले उद्घाटन गरेका थिए । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ बाँसगढी नगरपालिका– ४ मगरपुरमा रहेको कबड्डी एकेडेमीमा खेल सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलकुदलाई गाउँ मुखी बनाउनको लागि गाउँ स्तरमा सञ्चालन गरिएको बताए । ‘खेलाडिहरु शहरमा मात्रै नभएर गाउँमा पनी हुन्छन्’ उनले भने,‘अब खेलकुदलाई शहरमुखी मात्र नभएर गाउँमुखी बनाउन सुरु गरिएको छ ।’ आठौं राष्ट्रिय खेलकुद अन्तरर्गतका चार वटा खेलहरु बर्दियाका विभिन्न स्थानहरुमा भइरहेका छन् । राष्ट्रिय कबड्डी प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका महिला पुरुष गरी कुल बिस टिमले सहभागिता जनाएका छन् । शनिबार पहिलो दिन भएको खेलमा नेपाल आर्मीले सानदार सुरुआत गरेको छ ।

पुरुष÷महिला दुवैमा आर्मीले दोहोरो जित निकाल्यो । पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित ग¥यो । अन्यमा प्रदेश ५ ले प्रदेश २ लाई ३६–२६, एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५–३५ र गण्डकीले प्रदेश ३ लाई ५१–४७ ले हराए । महिलामा आर्मीले प्रदेश २ लाई ७२–१७ तथा कर्णालीलाई ५७–१२ ले पाखा लगायो । बाँकी लिगमा सुदूरपश्चिमले प्रदेश १ लाई ८१–२१, प्रदेश ५ ले गण्डकीलाई ६२–२२ र प्रहरीले प्रदेश ३ लाई ५१–२२ ले पन्छाए ।

राष्ट्रिय कबड्डी प्रतियोगिता आगामी बैशाख ५ गतेसम्म चल्नेछ । उद्घाटन समारोहमा संघिय सांसद तुलसा थापा गौतम, मधुवन नगरपालीकाका प्रमुख गणेश बहादुर केसी, बाँसगढी नगरपालीकाका उप–प्रमुख सुष्मा चौधरी, बढैयाताल गाँउपालीकाका उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ, सुरक्षा निकायका अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख १ गते आइतबार