अनुगमन टोलीलाई बाजाले स्वागत



मुगु ।
वर्षको एकदिन परीक्षाका समयमा मात्र अनुगमनमा जाने जिल्लाको अनुगमन टोलीलाई बाजागाजासहित स्वागत तथा सम्मान गरिएको छ । बुधबार गणित विषयको परीक्षाको अनुगमन गर्न गएको टोलीलाई स्थानीयले बाजागाजासहित सम्मान गरेका हुन् ।

मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको विजय माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्न जिल्लाबाट गएको अनुगमन टोलीलाई परीक्षा केन्द्र पुग्नु अगाडि नै स्थानीयवासि, शिक्षक, अभिभावकहरुले अनुगमन टोलीलाई अविर, फुल माला र बाजागाजा सहित स्वागत गरेका थिए ।

अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकाल, प्रहरी प्रमुख राजेन्द्रबावु रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुर्यबहादुर खत्री, जिल्ला अनुसन्धान कार्यालय प्रमुख नेबबहादुर राना, शिक्षक महासंघका अध्यक्ष जंगबहादुर शाही लगायतको अनुगमन टोलीलाई परीक्षा सुरु भई सकेपछि स्थानीयले बिच बाटोमा नै बाजा गाजा गरेका थिए ।

परीक्षा केन्द्रमा पुग्नु अगाडि नै बिच बाटोमा गएर बाजा गाजा र सम्मान गर्दा परीक्षा केन्द्र पुग्ने समय लम्बीने, परीक्षार्थीले चिट चोर्न समय उपलब्ध हुने र टोलीले परीक्षार्थीको चिट नखोसियोस भन्ने मुख्य उदेश्य अभिभावकको रहेको स्थानीयको बुझाई छ । कतिपयले त अघि पछि विद्यालयको पढाईको अवस्था, शिक्षक विद्यार्थीको उपस्थितीको अवस्था कहिले पनि अनुगमन नगर्ने तर परीक्षाको बेला मात्र अनुगमन गर्ने शैलीले शिक्षामा गुणस्तर नहुने भएकाले व्यंग्यात्मक स्वागत गरिएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १४ गते बिहीबार