काठमाडौं । राजधानीबाट प्रकाशित अखबारहरुले आज विभिन्न विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
सोमबार जनतासमाचार डटकमले नेपाल र जापानबीच भएको श्रम समझदारी, प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस र उर्जामन्त्री वर्षमान पुनले समयमै जलविद्युत् आयोजनाहरुको काम सम्पन्न गर्न दिएको निर्देशनबारेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ । यस्तै प्रधानमन्त्री ओलीले विप्लव समूह चैतभित्र सकिने कुरा गरेको प्रसङ्गलाई पनि अनलाइनमा प्रकाशित गरेको थियो ।
कान्तिपुर दैनिकले एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि भएको समाचार पहिलो पृष्ठमा छापेको छ । पत्रिकाले अंग्रेजी र नेपाली प्रश्नपत्रमा गल्ती र अस्पस्टताले विद्यार्थी अलमलमा परेको उल्लेख गरेको छ । यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कोसी इन्चार्ज पक्राउ परेको समाचार लेखेको कान्तिपुरले गैंडालाई आहाराको कमी भएको समचारलाई पनि पहिलो पृष्ठमा लेखेको छ । साथै नेपाल र जापानबीच भएको श्रम समझदारीको बारेको समाचारलाई पनि पत्रिकाले पहिलो पृष्ठमा तस्बिरसहित छापेको छ । यस्तै कान्तिपुरको एक कुनामा प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस भएको समाचार पनि छ ।
गोरखापत्र दैनिकमा विप्लपका गतिविधि नियन्त्रण गरिने प्रधानमन्त्रीको धारणाबारेको समाचार पहिलो पृष्ठमा छ । यस्तै यहि १५ र १६ गते हुने भनिएको लगानी सम्मेलनका लागि भन्दै प्रहरीले उच्च सुरक्षा संयन्त्र परिचालन गर्ने तयारीमा रहेको समाचार पनि पत्रिकाले छापेको छ । त्यसैगरी पशुपतिमा थरीथरीका चन्दन पाइने सम्बन्धी समाचार पन गोरखापत्रले पहिलो पृष्ठमा छापिएको छ । श्रीखण्डबाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइने समाचारमा उल्लेख छ ।
नयाँ पत्रिकाले नागरिकता विधेयक ८ महिनादेखि बन्धक बनेको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । साथै नागरिकता विधेयकमाथि महिला अधिकारकर्मीहरुको प्रसङ्गलाई पनि समाचारमा समेटिएको छ । साथै प्रमुख निर्वाचन आयुक्तमा सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको र जापानमा रोजगारीको लागि जानको लागि बाटो खुलेको समाचारलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।
काठमाडौं जिल्ला अदालतमा भएको घुसखोरीको विषयमा ‘खासखुसपछि काम फटाफट’ शीर्षकमा अन्नपूर्ण पोस्ट्लेसमाचार छापेको छ । लगानी सम्मेलनमा चिनिया चासो बढेको समाचार पनि पत्रिकाको पहिलो पृष्ठमा छ । लगानी सम्मेलनमा २ सय भन्दा बढी लगानीकर्ता चीनको रहेको समाचारमा उल्लेख छ । साथै जापानमा नेपालीलाई पनि जापानी कर्मचारीसरह सेवासुविधा दिने समाचार अन्नपूर्णको पहिलो पृष्ठमा छ ।
कारोबार दैनिकले ‘जापानका १४ क्षेत्रमा नेपाली श्रमिक’ शीर्षकमा समाचार छापेको छ । समाचारमा नेपाल र जापानबीच भएको श्रम सम्झौताको विषयलाई उल्लेख गरिएको छ । यस्तै १० वर्षे रणनीति तयार गर्दै नेपाल आयल निगम शीर्षकको समाचार पनि कारोबारमा छ । ढुवानी लागत कसरी घटाउने, पूर्वाधार क्षेत्रमा कति लगानी गर्ने र सुचना प्रविधिको अधिकतम प्रयोग कसरी गर्ने भन्ने विषयमा रणनीति बनाउन लागिएको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण सुस्त शीर्षकको समाचार लेखेको कारोबारले आयात रोक्नको लागि स्वदेशी उद्योगी परिचालनसम्बन्धी समाचार पनि पहिलो पृष्ठमा लेखेको छ ।
‘प्रतिपक्षको अनुपस्थितिमै धमाधम सिफारिस’ शीर्षकमा नागरिक दैनिकमा समाचार छ । समाचारमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिका परिषद्को बैठकले निर्वाचन आयोग र समावेशी आयोगको अध्यक्षको नाम सिफारिस गरेको उल्लेख छ । यस्तै नेपाल र जापानबीच भएको समझदारीको विषयमा लेखिएको समाचारमा विदेशमा काम गर्न जान चाहने कर्मचारीले भाषा र सीप सिक्न अनिवार्य रहेको प्रसङ्ग समेटिएको छ । यस्तै विप्लवबारे सरकारी धारणाबारे प्रधानमन्त्री र रक्षामन्त्रीको मतभेद रहेको समाचारलाई प्राथमिकता दिएको नागरिक दैनिकले हेलिकोप्टरको सिट हटाउने नेपाल उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन भइसकेको बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।









प्रतिक्रिया दिनुहोस्