तराईमा आज होली मनाइदै



कोहलपुर ।
तराईका अधिकांश जिल्लाहरुमा आज धुमधामका साथ होली पर्व मनाइदै छ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरु जिल्लाहरुमा पनि उस्तै खुशीयाली र धुमधामसँग होली पर्व मनाउने गरिन्छ ।

एक आपसमा रंग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रुपमा लिइन्छ । काठमाडौ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदैछन् । होली मनाइने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । पहाडि क्षेत्रहरुमा भने बुधबार नै धुमधामका साथ होली मनाइएको थियो ।

होली पर्वमा आफूभन्दा ठूला मान्यजनवाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्शिवाद लिने चलन समेत रहेको छ । पछिल्लो समय घरवाट बाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रुपमा पनि यो पर्व लिन थालिएको छ । होलीको अवसरमा नेपालगन्ज, कोहलपुर, खजुरा, बर्दियाको गुलरिया, बासगढी, राजापुर लगायतका स्थानहरुमा विभिन्न संघ संस्थाहरुले बुधबार होली मिलन कार्यक्रमको आयोजना समेत गरेका थिए । केहीले आज समेत होली मिलन कार्यक्रमको आयोजना गरेका छन् ।holi-nepa

आज बाँकेका विभिन्न स्थानहरुमा होलीको अवसरमा मट्का फोर कार्यक्रमको आयोजना समेत गरिएको बताइएको छ । कार्यक्रममा झुण्ड्याइएको माटोको भाँडा युवाको समूहले सामूहिक रुपमा फुटाउने गर्दछन् । माटोको भाँडा फुटाउने युवाहरुलाई आयोजकले पुरस्कार स्वरुप खाने कुरा, रुपैंया पैसा समेत दिने गर्दछन् । यो परम्परा पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको छ ।

यस बाहेक विभिन्न खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएका छन् । हिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुशियालीमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत ७ गते बिहीबार