डुडुवाको भवन अनुगमन



नेपालगन्ज (बाँके), जिल्ला समन्वय समिति बाँकेले डुडुवा गाउँपालिकाको नवनिर्मित अत्याधुनिक भवनको अनुगमन गरेको छ । समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले गाउँपालिकाको प्रशासनिक भवनको अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा बोल्दै समितिका प्रमुख चौधरीले मुलुककै पहिलो स्थानीय तहको रुपमा डुडुवाको अत्याधुनिक भवन निमार्ण भएको भन्दै छोटो समयमा भवन निमार्ण हुनुले सरकारको निमार्ण योजनाको प्रभावकारिता देखिएको बताए ।

उनले समन्वय समितिको सानो सहयोगले पनि यतिको ठूलो भवन निमार्णले यस क्षेत्रका नागरिकलाई सेवा लिनमा सहजता हुने विश्वास व्यक्त गरे । अनुगमनका क्रममा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले कार्यालय भवन विभिन्न कोठालगायतको संरचनाका बारेमा जानकारी गराउँदै अवलोकन गराएका थिए ।
डुडुवा वडा नम्बर ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताए ।

चार तले भवनमा पाँच सयजना क्षमता भएको ठूलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठूला तथा साना सवारी साधनका लागि पार्किङ, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतीक्षालय, सुरक्षा गार्ड रुम र लिफ्टसहितको भवन निमार्ण भएको छ ।

गाउँपालिकाको भवनअपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापनगरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधीभित्र नै भवन निमार्णको कार्य सम्पन्न गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार