राप्तीसोनारीको साईपुरमा प्राकृतिक विपद पीडितलाई आश्रय केन्द्र



नेपालगन्ज
प्राकृतिक विपदबाट पीडित ब्यक्ति र सामुदायिक कामका लागि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ स्थित साईपुरमा बहुउद्देशीय आश्रय केन्द्र निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका, तराई भु–परिधी कार्यक्रम कोहलपुर, वन तथा वातावरण संरक्षण समन्वय समिति महादेवपुरी र स्थानीय बासिन्दाको श्रमदानबाट उक्त भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको शुक्रबार एक समारोहका बीच उद्घाटन गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नवनिर्मित भवनलाई बहुउद्देशीय काममा प्रयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गर्नु भयो । राप्तीको बाढीबाट गाउँपालिकामा रहेका सबै वडा जोखिममा रहेको बताउँदै यस्ता भवन सबै वडामा बनाउनुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले कति प्रतिशत लगानी गर्नुपर्छ, लगानी गर्न हामी तयार छौं ।’ विपदलाई रोक्न नसकेपनि क्षति न्युनिकरण गर्न सकिने उहाको भनाई छ ।

यस्तै पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले बाढी पीडितहरु पीडामा छट्पटाईरहेका बेला आश्रय केन्द्रले ठुलो राहत दिने बताउनु भयो । राप्तीसोनारीका सबै वडा प्रायः दैवी प्रकोप र बाढीबाट प्रभावित रहेको भन्दै अन्य वडामा पनि यस्ता भवन निर्माण गरेको खण्डमा पीडितले राहत महसुस गर्ने धारणा राख्नु भयो ।

यसैगरी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारी गाउँपालिका सम्पदाको हिसाबले धनी भएपनि प्राकृतिक विपदको धेरै जोखिममा रहेको बताउनु भयो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले बाढीको उच्च जोखिममा रहेको उक्त ठाउँमा आश्रय केन्द्रको धेरै आवश्यकता रहेको बताउनु भयो । ‘बाढीको पुर्व तयारीका लागि जुन भवन बनेको छ, यहाँका बासिन्दा एकदमै खुसी हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।
वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्रीले सबैको सहकार्यबाट बाढीको उच्च जोखिम रहेको क्षेत्रमा आश्रय केन्द्र निर्माण गर्ने कार्यले पुर्णता पाएको बताउनु भयो । अध्यक्ष खत्रीले भन्नुभयो, ‘अत्यन्त जोखिम क्षेत्र छानेर यो ठाउँमा आश्रय केन्द्र स्थापना गरेका हौं ।’ समन्वय समितिका अध्यक्ष खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई डब्लु डब्लु एफ क्यानडाका प्रमुख कार्यकारी अधिकृत मेगन अनिसा लेस्ली, डब्लु डब्लु एफ नेपालका डा. घनश्याम गुरुङ, समन्वय समितिका सचिव यमबहादुर बोहरा लगायतले सम्बोधन गर्दै नवनिर्मित भवनको सही काममा प्रयोग गर्न सुझाव दिनु भएको थियो ।
भवन निर्माणका लागि कुल ८४ लाख ९५ हजार ३ सय २९ रूपैयाँ लागत लागेको छ । भवन निर्माणमा लागि राप्तीसोनारी गाउँपालिकाले १७ लाख बजेट लगानी गरेको छ । यसैगरी तराई भु–परिधी कार्यक्रम र वन तथा वातावरण संरक्षण समन्वय समितिले निर्माणमा ५४ लाख ३१ हजार ३ सय ३० तथा ९ लाख ७४ हजार ९५ रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ, भने स्थानीय बासिन्दाले ३ लाख ८९ हजार ९ सय ४ रुपैयाँ बराबरको श्रमदान गरेको भवन निर्माण समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुले जानकारी दिनुभयो । उक्त भवनमा ठुलो हलसहित महिला र पुरुष शौचालय, धारा, सोलार प्यानल लगायत पुर्वाधार रहेको छ । कार्यक्रममा थारु युवा, युवतीले आर्कषक नृत्य प्रस्तुत गरेका थिए । २०७४ सालको बाढीका कारण राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ सबैभन्दा प्रभावित भएको थियो । उक्त गाउँपालिकाको लालपुरमा एकै परिवारका ३ बालिकाको बाढीका कारण मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १८ गते शनिबार