मर्मालीले मनायो सातौँ वार्षिक साधारण सभा



कोहलपुर, बाँके/ बाँकेको कोहलपुर नगरपालिका–९ भवानीयापुरस्थित श्री मर्माली कृषि सहकारी संस्था लि.ले सातौँ वार्षिक साधारण सभा भव्य रुपमा मनाएको छ । संस्थाले आफ्नो स्थापना दिवसको सात वर्ष पुरा गरेको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वार्षिक साधारण सभा भव्य रुपमा मनाएको हो । सभाको प्रदेश नं.५ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी थिइन् । कार्यक्रमको उद्घाटनसत्रम बोल्दै परम्परागत कृषि प्रणालीको अन्त्य गर्दै आधुनिक कृषि प्रणालीलाई अवलम्वन गर्नुपर्ने बताइन् । नेपाली कृषकहरु कृषिक्षेत्रमा पछि पर्नुको मुख्य कारण परम्परागत कृषि प्रणाली नै भएको उनको भनाइ थियो ।

विपन्न कृषक, पछाडि पारिएका समुदायलाई प्राथमिकतामा राखेर अघि बढ्नु सहकारीहरुको मुख्य मर्म भएको बताउँदै मन्त्री पौडेलले उत्पादकमूलक क्षेत्रमा सहकारीहरुले ध्यान दिनुपर्ने सुझाव दिएकी थिइन् । साथै सहकारीले लिएको विउ उत्पादन लक्ष्य कृषकहरुका लागि अत्यन्तै लाभदायिक हुने उनको भनाइ थियो । विउका लागि कृषकहरु बहुराष्ट्रिय कम्पनीहरुको भर पर्नुपर्ने बताध्यता रहेको पनि उनले विचार व्यक्त गरिन् । उनले भनिन्–‘अहिले अवस्थामा किसानहरुको हातमा विउ छैन, विउ बहुराष्ट्रिय कम्पनीको हातमा छ, उनीहरुले हामीलाई विउ दिएभने मात्रै हामी खेती गर्न सक्छौ, नत्र हाम्रा खेतबारीहरु बाँझै हुन्छन् ।’

मन्त्री पौडेलले सहकारी ऐन छिट्टै ल्याउने तयारी भइरहेको पनि जानकारी गराउँदै प्रदेश सरकार नितान्त नयाँ भएकोले अहिले नीति तथा कानून निर्माण लागिरहेको र जनताका हितमा हुने गरी ऐन कानून निर्माण गरिने पनि जानकारी गराइन् । अहिले प्रदेश सरकारसँग भएको सिमित स्रोत साधनमा अधिक जनतालाई फाइदा हुनेगरी कहिँ पनि विभेद नहुने गरी वितरण गरिरहेको उनको भनाइ थियो । त्यसका साथै हरेक उमेर समूहका नागरिकहरुका लागि विशेष खालका कार्यक्रमहरु ल्याउनु प्रदेश सरकारको प्राथमिकता रहेको पनि मन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेम केसीले शेयर सदस्यहरुलाई धेरै सहकारीमा नभई एउटै सहकारीमा आवद्ध भएर काम गरे मात्र जिवनस्तरमा सुधार आउने बताए । उनले भने–‘धेरै सहकारीमा आवद्ध भएर जिब्रोको स्वाद त फेरिएला तर जिवनस्तर भने फेरिदैन ।’ साथै उनले प्रदेश सरकारको ५० लाख सहयेगमा नेपालगन्जमा सहकारी बजार सञ्चालन गरिने समेत जानकारी गराए । यस्तै वडा नं.९ का वडा अध्यक्ष ठाकुर प्रसाद थारुले सहकारीका माध्यमबाट आर्थिक रुपान्तरण गर्न सकिने विचार व्यक्त गरे । निम्न आयस्तर भएका नागरिकहरुको जिवनस्तर आयस्तर वृद्धि गर्नमा सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मान बहादुर रानाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका नीति तथा कार्यक्रमहरु समेत प्रस्तुत गरेका
थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा असार मसान्तसम्म संस्थाको शेयर रु ५६ लाख ८९ हजार ४ सय, वचत संकलन रु ३ करोड १ लाख ३२ हजार १ सय ३७ र कर्जा लगानी रु ४ करोड ७ लाख ६३ हजार ५ सय रहेको छ भने आगामी दिनका नीति तथा कार्यक्रमहरुमा सदस्यता वृद्धि दर १५ प्रतिशत बढाई सदस्य विस्तार गर्ने, गत वर्षको नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिने लगायतका २० वटा उद्देश्य लिइएको  छ । यस्तै संस्थाका कोषाध्यक्ष गुमान सिंह रावतले अर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

सोही अवसरमा संस्थाकी निवर्तमान व्यवस्थापक कृष्णा राना बिस्टलाई उनको कार्य कुशलताको मुल्याङ्ककन गर्दै नगद ३० हजारसहित दोसला आढाई सम्मान गरिएको थियो ।

साथै उत्कृष्ठ वचतकर्ता, समयमा ऋण बुझाउने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कोहलपुर नगर कृषि शाखाकी कल्पना नेपाली, वडा नं.९ की वडा सदस्य सुनिता बिस्ट राना, जिल्ला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष एकता शाह, दिगो कृषि सहकारी संस्थाका व्यवस्थापक यदुप्रसाद शर्मा, सञ्चालक समिति सदस्य शेर बहादुर शाही, नवकिरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजु रुचाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य उपेन्द्रनाथ योगीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २३ गते आइतबार