हावाबाट विद्युत् उत्पादन गरिने



दाङ/  दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो ।

स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए । “कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन”, उनले भने, “तर स्याटलाइटको माध्यामबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।”

“ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खा पनि जडान गरिएको छ”, इञ्जिनीयर दुलालले भने, “८० मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खाले दुई वर्षसम्म हावाको गति मापण गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछ ।”

“दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ”, उनले भने, “दुई वर्षको नतिजाअनुसार मात्र विद्युत् उत्पादन शुरु हुन्छ ।” इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापण गर्ने काम भइरहेको छ ।

हावाको गति मापण गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उनले बताए । पहिलो चरणमा रु ५०÷६० लाख बराबरको काम भएको उनको भनाइ छ ।

अहिले मुलुकभर २१ ठाउँमा हावाको मापण गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । उहाँका अनुसार नवलपरासी, सिन्दुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम, पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ३० गते शुक्रबार