नेपालगन्ज/ नेपालगन्ज उच्च अदलात बार एशोसिएशनको चुनावी सरगर्मी बढेको छ । यही भदौ १६ गते हुने निर्वाचनका लागि कानुन व्यवसायीहरु दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन मिति नजिकिएसँगै दुबै समूह मतदाताको घरदैलो अभियानमा व्यस्त छन् । प्रगतिशिल पेशागत कानून ब्यावसायी समूहले आइतबार पत्रकार सम्मेलन गरी उम्मेदवार सार्वजनिक गर्नुका साथै आफ्नो एजेण्डा सार्वजनिक गरेको छ ।
एजेण्डा सार्वजनिक कार्यक्रममा अध्यक्षका उम्मेदवार विकास आचार्यले नेपालगन्ज उच्च अदालत बार एशोसिएशनको गुमेको साख जोगाउन आफूले उम्मेदवारी दिएको बताए ।
उनले कानून ब्यवसायीको साझा संस्थालाई कुनै पार्टी वा संगठनको क्रिडास्थल नबनाई साझा संस्थाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । आफ्नो समूहले जितेमा बारका सदस्य कानून ब्यावसायीको दुर्घटना विमा बनाउने प्रतिवद्धता जनाउँदै अध्यक्षका उमेदवार आचार्यले बारको गरिमा बढाउन बेन्च र बारबीचको सम्बन्ध सुधार गर्ने बाचा गरे ।
कानून ब्यवसायी तेजकुमार धितालले प्रजातान्त्रिक समूहबाट जितेर गएका बारका पदाधिकारीले दलिय आस्थाको आधारमा कानून ब्यवसायीलाई ब्यवहार गर्दै आएको आरोप लगाए ।
उनले दलीय आस्थाका आधारमा बार सञ्चालन गरेकै कारण बारप्रति जनविश्वास गुम्दै गएको बताए । पुनरावेदन बार एशोसियसनका पूर्व अध्यक्ष ध्रुव बस्यालले बारलाई राजनीति गर्ने थलोको रुपमा प्रयोग गरिएकै कारण कानून ब्यवसायीको अधिकार स्थापित हुन नसकेको बताए । उनले बारको मर्यादामा आँच पुग्ने कार्य पदाधिकारीले गरेको आरोपसमेत लगाए ।
आचार्यको समूहबाट उपाध्यक्षमा राजाराम गुप्ता, सचिवमा सुनिता शर्मा र कोषाध्यक्षमा रामचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । सदस्य पदका लागि महिलातर्फ कुशुमा सुवेदी, पवित्र कुमार शर्मा, श्याम कुमार श्रेष्ठ, वीरेन्द्र कुमार बस्नेत, अजय राज जैसी, दण्ड कुमार चपाईँ, विश्वराज चौधरी (पछल्डङ्ग्या), टोप बहादुर थापा र गोविन्द बहादुर केसी रहेका छन् ।
प्रजातान्त्रिक कानुन ब्यवसायी समुहका अध्यक्ष उम्मेदवार शिबकुमार श्रेष्ठले बार र बेन्च बीचको सम्बन्धलाई सुदृढ़ बनाउँदै कानुन ब्यवसायीहरुको हकहित संरक्षण गर्नु आफूहरुको मुख्य एजेण्डा भएको बताएका छन् । उनले कानूनी शासन स्थापना गर्न आफ्नो समूहले बारमा उम्मेदवारी दिएको बताए । –सदरलाइन









प्रतिक्रिया दिनुहोस्