कोहलपुर/ मन्टेश्वरीमा अध्यापन गराउने शिक्षिकाहरुको सिप तथा क्षमता अभिवृदि गराउने उद्देश्यले संचालन गरिएको ४५ दिने मन्टेश्वरी तालिमको शुक्रबार कोहलपुरमा समापन गरिएको छ ।
गत फागुन २५ गतेबाट कोहलपुर स्थित प्याराडाईज मन्टेश्वरी तथा टेक्निकल टे«निङ्ग सेन्टरको आयोजनामा सञ्चालन गरिएको सो तालिमको एक समारोहका विच समापन गरिएको हो । 
तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सिकेको सिप शिक्षिकाहरुले आ–आफ्नो विद्यालयमा गएर लागू गर्नेमा आफू विश्वस्त रहेको बताए ।
तल्ला कक्षाहरुमा नै बालबालिकाहरुलाई राम्रो ज्ञान शिक्षा र व्यवहार सिकायौं भने नै माथिल्ला कक्षाहरुमा राम्रो बन्ने उनले बताए । साथै यस्ता खाले तालिम निजी विद्यालयका मात्र नभई सामुदायिक विद्यालयका शिक्षिकाहरुका लागि पनि आवश्यक रहेको बताए । 
कार्यक्रमममा बोल्दै मिसन टुडे दैनिकका प्रकाशक तथा सम्पादक बिनोद पौडेलले तालिम लिँइदैमा सिकाइ सार्थक नहुने भएकाले सिकेको सिप व्यवहारमा लागु गर्न सके मात्रै सिकाइ सार्थक हुने बताए ।
साथै उनले बालबालिकाहरुलाई सिकाइमा तत्पर बनाउन उनीहरुमा सिकाइको भोक जगाउनु पर्नेमा जोड दिए । खानाको जस्तै सिकाइको पनि भोक जगाउन सके उनीहरुमा छिटो सिकाइ हुने बताए । 
यस्तै जनज्योति पब्लिक माविका संस्थापक जनक चन्दले तालिमले शिक्षिकाहरुको अध्यायपन गराउने क्षमता अभिवृद्धि हुने भएकाले विद्यायलको शैक्षिक सुधारमा सहयोग पुग्ने बताए ।
प्याराडाईज मन्टेश्वरीकी प्रिन्सिपल सिता पौडेलले तालिमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । मुख्य प्रशिक्षक दिप्ती रानाले सहजीकरण गरेको सो तालिममा बाँके, बर्दिया, दाङ, सुर्खेत जुम्ला जिल्लाका गरी २६ जना शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
उनीहरुलाई प्रमुख अतिथि नगर प्रमुख रावतले प्रमाणपत्र वितरण गरेका थिए । प्याराडाईज मन्टेश्वरीको आयोजनामा यसअघि पनि दुई चरण तालिम आयोजना गरिसकिएको छ । यो तेस्रो पटक हो ।
पहिलो चरणमा २६, दोस्रो चरणमा २२ र तेस्रो चरणमा २६ जनालाई तालिम दिइएको प्रिन्सिपल सिता पौडेलले बताइन् । कार्यक्रमको सञ्चालन बालज्योति माविका प्रिन्सिपल दमोदर पौडेलले सञ्चालन गरेका थिए । 


















प्रतिक्रिया दिनुहोस्