बर्दियाका सुनचाँदी व्यवसायी धरौटीमा रिहा



बर्दिया/  बर्दियाको बाँसगढी, गुलरिया र राजापुरका सिलबन्दी गरिएका सुन चाँदी पसलहरु खोलिएको छ ।

जिल्लाका १२ ओटा सुन चाँदी पसलका सञ्चालकहरु धरौटीमा छुटे पछि पसलहरु खोलिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पछि जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सिलबन्दी गरिएका सबै पसलहरुको सिल तोडि पसल खोलिएको छ ।

सुन चाँदी पसलका सञ्चालकहरु २५ हजार देखि २ लाख सम्मको धरौटीमा छुटेको र सिलबन्दी गरिएका सबै पसलहरु खोल्ने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ्गले बताए ।

बाँसगढी बजारका सिलबन्दी गरिएका ६ ओटा पसल जिल्ला प्रशासन कार्यालयको निर्देशन पत्र अनुसार ईलाका प्रशासन कार्यालय बाँसगढी, ईलाका प्रहरी कार्यालय बाँसगढी, बाँसगगढी नगरपालीका, बाँसगढी उद्योग वाणिज्य सँघका प्रतिनिधी सहितको टोलीले बुधबार पसल खोलिएको प्रहरी निरिक्षक बसन्त गौतमले बताए ।

बाँसगढीका पक्राउ परेका पसल सञ्चालक सिता सुनार २५ हजार, संगित सुनार ५० हजार, बिक्रम सोर्नाकार १ लाख र शिव कुमार सुनार २५ हजार धरौटीमा छुटेका छन ।

जिल्लाका बिभिन्न क्षेत्रमा बजार अनुगमन गरि संकलन गरीएको सुन नमुना गुणस्तर तथा नापतोल बिभागमा परिक्षण गर्दा ८ प्रतिशत अन्य धातु मिसावत गरी विक्रि वितरण गरेको पाईए पछि असार १७ गते जिल्लाका १२ ओटा सुन पसलहरुमा सिलबन्दी गरि सञ्चालकलाई पक्राउ गरिएको थियो ।

बाँसगढीमा गण्डकी सुनचाँदी पसल, मोडेल सुनचाँदी पसल, सिता सुनचाँदी पसल, पोखरा सुनचाँदी पसल, पर्वत मनिषा सुनचाँदी पसल र स्याङ्जा सुनचाँदी पसल सिलबन्दी गरिएको थियो ।

गुलरिया बजारका न्यु स्याङ्जा गण्डकी सुनचाँदी पसल, गण्डकी सुनचाँदी पसल, राप्ती लुम्बीनी सुनचाँदी पसल, राजापुर बजारका दङ्गाली सुनचाँदी पसल, लुम्बिनी सुनचाँदी पसल र फुलाराम ज्वैलर्सलाई पनि सिलबन्दी गरि सञ्चालकहरुलाई पक्राउ गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३ गते बिहीबार