प्रथम उप–मेयर छात्रा क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा त्रिभुवन मावि विजयी



कोहलपुर,२६ जेठ/ 

प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४ शनिबारदेखि कोहलपुरमा सुरु भएको छ ।

प्रतियोगिताको जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरख बहादुर थापा र कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

‘‘छात्रा क्रिकेट हाम्रो सान, कोहलपुरको सान” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख थापाले फालेको बललाई ब्याटले हिर्काएर उप–प्रमुख चौधरीले शुभारम्भ गरेकी थिइन् ।

‘बाँकेको कोहलपुर क्षेत्रलाई महिला क्रिकेटको उर्वर भुमिका रुपमा समेत हेर्ने गरिन्छ ।’ त्यसलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले छात्राहरुलाई खेल प्रति आकर्षित गर्न प्रतियोगिता सञ्चालन गरेको कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले बताइन् ।

प्रतियोगितामा कोहलपुर क्षेत्र भित्र रहेका सामुदायिक र निजी विद्यालय गरी १२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिता उद्घाटन सत्रमा बोल्दै जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरख बहादुर थापा कोहलपुर नगर छात्रा क्रिकेटका लागि उर्वर भुमि भएको र यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भइसकेको भन्दै खुसी व्यक्त गरे ।

छात्राहरुको खेल प्रतिको चासोलाई यस प्रतियोगिताले सम्वोधन गर्नुका साथै क्रिकेट क्षेत्रका उत्कृष्ट खेलाडी उत्पादन हुनेमा पनि आफू विश्वस्त रहेको थापाले बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले कोहलपुरमा क्रिकेट खेल सम्बन्धी हुने गतिविधिहरुबाट आपूm निकै प्रभावित भएको भन्दै आगामी मंसिरमा मध्यपश्चिम क्रिकेट क्लबसँगको समन्वयमा ठूलो धन राशीको क्रिकेट प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता समेत जनाए ।

नगर शिक्षा समितिका प्रमुख मन प्रसाद रेग्मीले समय व्यवस्थापनमा केही समस्या रहेकाले प्रतियोगिता सञ्चालनमा ढिलाई भएपनि आगामी आर्थिक वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गरिने बताए ।

उनले कोहलपुर क्षेत्रभित्र रहेका छात्राहरुलाई यस प्रकारको प्रतियोगिताले खेलका माध्यमबाट अगाडि बढाउने निकै ठूलो भुमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा त्रिभुवन नमुना मावि विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको वागेश्वरी एकेडेमी कोहलपुरले निर्धारित १५ ओभरमा ६८ रन जोड्न सफल भएको थियो । ६८ रनको झिनो लक्ष्य पछ्याएको त्रिभुवनले मात्र ७ दशमलव ३ ओभरमै लक्ष्य पुरा गरेको थियो ।

त्यसैगरी शनिबार नै सम्पन्न दोस्रो खेलमा रामजानकी माविले सगरमाथा ज्ञानपुञ्जलाई पराजित गर्दै जित निकालेको छ ।

रामजानकीले ६ रनको रोचक जित निकाल्न सफल भएको हो । टस हारेल ब्याट्रिको निम्तो पाएको रामजानकीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १८ रन जोड्न सफल भएको थियो ।

१ सय १९ रनको विशाल लक्ष्य पाएको ज्ञानपुञ्जले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रनमा समेटिएको थियो ।

प्रतियोगिता अन्तर्गत आज (आईतबार) ग्रिन पिस मावि र साईनिङ स्टारबिच पहिलो खेल हुने छ भने दोस्रो खेल दिव्य विद्या सदन र जनज्योती मावि बिच प्रतिस्प्रर्धा हुने आयोजकले जनाएको छ ।

कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिता आगामी असार ३ गते समापन गर्ने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक लेखबहादुर क्षेत्रीले बताए ।

प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद रु २१ हजार तथा उप विजेताले १० हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार