कविन्द्र परियार : कोहलपुर,२५ जेठ/ अधिकांश युवाहरु पढाई पछि जागिरको खोजिमा भौतारिन्छन् । नभए वैदेशिक रोजगारीमा पलायन हुन्छन् तर बाँकेका राप्तीसोनारी–२ बेलबासका एक युवा भने स्नातक पास गरिसकेपछि व्यवसायिक रुपमा बाख्रापालनमा लागेका छन् ।
सबैजना युवाहरु रोजगारीको खोजीमा भौतारी रहेका बेला उक्त स्थानका ३२ वर्षीय टेकराज डाँगी भने विगत डेढ वर्षदेखि वनदेवी बाख्रापालन फार्म सञ्चालन गरेर व्यवसायिक रुपमा बाख्रपालन गर्दै आएका छन् । उनले स्नातक उतिर्ण गरेसँगै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
सुरुमा ४ लाखको लागतमा ३० वटा बाख्रापालन सुरु गरेका डाँगीसँग हाल साना ठुला गरी ६० वटा बाख्रा रहेका छन् । स्नातक उतिर्ण गरेसँगै धेरै ठाउँमा घुमेपछि सबै भन्दा सजिलो र राम्रो व्यवसाय बाख्रापालन व्यवसाय भएका कारण यो पेशा सुरु गरेको डाँगीको भनाई छ ।
‘बाख्रा जिउदो हुँदा पनि र मरिसकेपछि पनि मुल्य पाउने चिज भएकाले यो पेशा रोजेको हुँ’ डाँगीले भने । जागिर खाएर अरुको काम गर्नुपर्ने अरुको आशामा रहनु भन्दा कृषि पेशा स्वतन्त्र पेशा भएकोले यो पेशा रोजेको उनको भनाई छ । ‘सुरुमा मलाई यति पढेर पनि यो सबैले बौलायो भन्थे तर अहिले सबैबाट प्रशंसा पाएको छु’ डाँगीले भने ।
बाख्रापालन व्यवसायबाट डाँगीले वार्षिक ४ देखि ५ लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् । उनले अहिले आधुनिक खोर निमार्ण गरी उन्नत जातका तराई लोकल, सानन्, वोयर जातका बाख्रापालन गरेका छन् भने २ जनालाई रोजगारी समेत दिएका छन् ।
उन्नत जातका पाठापाठी तथा नश्ल सुधारमा विशेष जोड दिएर बाख्रालापालन गरिरहेका छन् । डाँगलिे गत वर्षको बाढिबाट करिब १४ वटा बाख्रा मरेर करिब २ लाख क्षति भएको बताए ।
त्यति बेलाको क्षतिको कुनै पनि राहत नपाएको उनको गुनासो छ । बाख्रामा कुनै समस्या देखिएमा पशु प्राविधिक नआई दिने समस्या रहेको हुदाँ स्थानीय सरकारले उक्त व्यवस्था मिलाई दिनुपर्ने र युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने डाँगीको आग्रह छ । उनकी श्रीमती हेमाले पनि आफ्नो व्यवसायमा कसैले सहयोग नगरेको गुनासो गरिन् ।
जिल्ला लघु उद्यमी समुह संघ बाँकेमा समेत काम गरिसकेका डाँगीले बाख्रापालन व्यवसायका साथ साथै जडिबुटी खेती समेत गरेका छन् । उनले ढाई कठ्ठा जग्गामा क्यामोमाईल र मेन्था खेती समेत गरिरहेका छन् । समाजसेवामा समेत उत्तिकै सक्रिय डाँगीले पछि समयमा व्यवसायिक कागती खेती गर्ने लक्ष्य रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्