गुञ्जिए बाल साहित्यकार



कोहलपुर,७ जेठ/

हुन्छन् पूरा गरेसी काम सफल जीवन
नगरौं भेद सबैका लागि गरौं न सम्मान
सबैको लागि भलाई हुने पालना बनाऔं
जानेको कुरा सिकेर विश्व जगाऔं
……………………………

बालज्योति अंग्रेजी माविकी छात्रा मोनिका रावतले लेखेको यो कविताले जीवनका विषय दर्शाउँछ । सबैलाई सम्मान गर्ने र कसैलाई पनि भेद्भाव गर्न हुँदैन भन्ने कुरा कवितामार्फत् भनेपछि सहभागीहरु मन्त्रमुग्ध भए । उस्तै मीठो शैलीमा कविता वाचन गरेकी उनले सहभागीलाई आफ्ना कवितामार्फत् लठ्ठ पार्न सफल भइन् ।

उनीजस्तै अन्य बालबालिकाले पनि देशभक्तिसम्बन्धी रचना वाचन गरे । यहाँका बालबालिकाको प्रस्तुति हेरेपछि उपस्थित साहित्यकारले उनीहरुको प्रशंसा गरे । किताबी ज्ञानसँगै अन्य चौतर्फी विकासमा अभिभावक तथा विद्यालयले बालबालिकालाई प्रेरित गर्नुपर्ने सहभागीले बताए ।

अहिले बालबालिकाहरु खुलेर आफ्ना प्रतिभा प्रस्फुटन गर्न सक्ने भएका छन् । ‘बालबालिकाका लागि पुस्तकालय र भित्तेपत्रिकासमेत सञ्चालनमा ल्याएका छौँ,’ बालज्योति माविका प्रिन्सिपल दामोदर पौडेलले भने ।

आइतबार विद्यालयमा गरिएको ८ औं टीकाराम सुवेदी स्मृति दिवसमा बालबालिकाले रचना वाचन गरे । विद्यालयमा गठित बाल प्रतिभा तथा बाल कोपिला साहित्य मञ्चले आयोजना गरेको कार्यक्रममा साहित्यकारसमेतले रचना वाचन गरे ।

बाल प्रतिभा तथा बाल कोपिला साहित्य मञ्चका सल्लाहकार शंकर अशान्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोहलपुर–११ का वडाध्यक्ष, होटल व्यवसायी संघ बाँके कोहलपुर अध्यक्ष बलराम भट्टराई, साहित्यकारहरु पुष्कर रिजाल ‘पुष्प’, देवकी निरौला, खोपिराम ओली, बद्रि ढकाल ‘हिरामणि’, विक्रम शिशिरलगायतको उपस्थिति थियो ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल दामोदर पौडेलको सभापतित्वमा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ७ गते सोमबार