सुदीप अधिकारी : बर्दिया,१० वैशाख/ केही दिनयता बर्दिया निकुञ्ज र यसका आसपासका वनमा डढेलो लागेको छ । डढेलोको धँुवाले निकुञ्ज मध्यवर्ती क्षेत्रका बासीन्दालाई निकै सकस भएको छ ।
धुवाँका कारण आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, सवारीसाधन चलाउन गाह्रो हुने लगाएतका समस्या देखा परेको स्थानीयवासी बताउँछन् । निकुञ्जको उत्तरी भेग चुरे पहाडबाट सल्किएको डढेलो निकुञ्जको पश्चिम दक्षिण क्षेत्रमा फैलदै आएको छ ।
निकुञ्ज क्षेत्रमा लागेको डढेलोको धुवाले निकुञ्ज मध्यवर्ती क्षेत्रका बस्ती ढपक्कै ढाक्ने गरेको छ । निकुञ्ज छेउँछाउँमा पर्ने गाउँ डढेलोको धुवाले प्रभावित भएका छन् । निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औरीलगाएतका दुई दर्जन भन्दा बढी गाउँ केही दिनयता धुवाले ढपक्कै ढाकिने छ ।
निकुञ्जको चुरे पहाडको भागदेखि फैलिएको डढेलो केही दिन यता तराइमा फैलिएको छ । डढेलोका कारण निकुञ्ज नजीकको बस्ती धुवाले ढपक्कै ढाकिदा हिडडुल गर्न निकै समस्या परेको निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानिय रामप्रसाद थारुले बताए । निकुञ्ज छेउँछाउँका गाउँका बासिन्दा डढेलोको धुवाको समस्याबाट वर्षौदेखि पीडित छन् ।
करिव महिनादिन सम्म यो समस्या रहिरहने स्थानियबासी बताउँछन् । बस्तीमा धुवाको दिउँसोको तुलनामा राती र विहान पख बढी हुने गर्छ । दिउँसो हावा चल्ने हुनाले धुवाको प्रभाव धेरै नभएपनि साझ पर्ना साथ धुवाले गाउँ ढाक्ने गरेको ठाकुरबाबा नगरपालिका ४ सैनवारका मीनु सावद बताउँछन् । धुँवाको कारण यहाका मानिसलाई बिहान र साँझ हिडडुल गर्न र बाहिर निस्कन गाह्रो हुने गरेको छ ।
डढेलोको धुँवाले निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी पनि प्रभावित भएका छन् । निकुञ्ज भित्र सेनाका दर्जन बढी सुरक्षा पोष्टहरु छन् । धँुवाले गर्दा निकुञ्ज र वन आसपासका मानिसमा आँखा पोल्ने, सास फेर्न अप्ठ्यारो हुने, खोकी लाग्ने जस्ता समस्या देखा परेको छन् । ‘ धुँवाका कारण निकै समस्या भएको छ । बिहान त हिडडुल गर्नै मुस्किल पर्छ ।
धँुवाले रातदिन आँखा पोल्छ,’ निकुञ्ज छेवैको गाउँ डुम्रेनीका अमर तिमिल्सेनाले भने । निकुञ्ज क्षेत्रमा पर्ने रम्भापुरदेखि कर्णाली चिसापानी सम्मको क्षेत्रमा साँझ परेपछि राजमार्गमा गाडी चलाउन पनि समस्या हुने गरेको चालकहरुले बताएका छन् । जति साँझ पर्दै गयो उति नै धुँवाले समस्या पार्छ । साँझ ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्गमा सवारी साधन चलाउन समेत गाह्रो हुने गरेको सवारी चालकहरु बताउँछन् ।
धुँवाले स–साना केटाकेटी र वृद्धहरुलाई बढी श्वासप्रश्वास सम्बन्धि समस्या देखिन थालेको छ । गर्मी याममा पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्जमा सल्केको डढेलो फैलिदै गएको निकुञ्जले जनाएको छ ।
एकै पटक धेरै स्थानमा डढेलो लाग्नाले निभाउन सम्भव नहुने निकुञ्जको भनाइ छ । निकुञ्जमा लागेको डढेलोका कारण प्रत्येक वर्ष चराचुरुङ्गीका अण्डा, गुड बच्चा र नयाँ वोटविरुवा तथा जडीबुटीहरु जलेर नष्ट हुने गरेको संरक्षणकर्मीको भनाइ छ ।
निकुञ्जमा डढेलो लागेका कारण वन्यजन्तु बाहिर निस्कन खोज्ने भएकाले वन्यजन्तुबाट दुर्घटना हुन सक्ने खतरा पनि रहको छ ।









प्रतिक्रिया दिनुहोस्