चोरी शिकार नियन्त्रण अभियानमा युवा सक्रियाता



कोहलपुर,२० चैत/  कोहलपुरकी पूर्णिमा बुढा चोरी शिकार नियन्त्रण एवम् जैविक विविधता संरक्षण अभियानमा जोडिएकी छन् । देउराली हरियाली मध्यवर्ती क्षेत्रअन्तर्गतको चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति टोल युनिट, शक्तिनगरकी उनी सदस्य हुन् ।

यसभन्दा पहिले जैविक विविधता, वन्यजन्तु संरक्षणलगायतका विषयमा सामान्य जानकारी भए पनि अहिले उनी सक्रिय भएर संरक्षण अभियानमा जोडिएकी हुन् । ‘सिबिएपियूको टोल युनिटमा बसेर काम गर्ने मौका पाएकी छु,’ उनले भनिन्, ‘चोरी शिकार नियन्त्रण अभियानमा पूर्णरुपमा लाग्नेछु ।’

उनीजस्तै बाँके राष्ट्रिय निकुञ्जका धेरै युवा संरक्षण अभियानमा जोडिँदैछन् । निकुञ्जअन्तर्गत ९ वटा मध्यवर्ती उपभोक्ता समिति मातहतमा सिबिएपियू उपसमितिका रुपमा छ । अहिले कोहलपुर मध्यवर्ती क्षेत्र र देउराली हरियाली मध्यवर्ती क्षेत्रमा टोल युनिटसमेत गठन थालिएको छ । कोहलपुरमा तीनवटा र देउरालीमा दुईवटा युनिट छन्।

यो क्षेत्र ठूलो र प्राकृतिक स्रोतसाधन दोहन हुन सक्ने खतरा रहेकाले टोल युनिट विस्तारलाई तीव्रता दिइएको सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्णलाल चौधरीले बताए । संरक्षणमा युवाको महत्वपूर्ण भूमिका हुने भएकाले टोल युनिटमार्फत् युवालाई समेटिएको उनको भनाइ छ । ‘संरक्षणसँगै नेतृत्व विकास आयआर्जनका क्षेत्रमा पनि सिबिएपियूले काम गर्दै आएको छ,’ उनले भने, ‘यसले निकुञ्जलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने गर्छ ।’

यस अभियानमा जोडिएका युवाको आयआर्जनका लागि घुम्ती कोष पनि सञ्चालन गरिएको उनले बताए । कोषबाट संरक्षण अभियानमा जोडिएका युवालाई सहुलियत दरमा ऋण प्रदान गरी आयआर्जनमा लगाइने उनको भनाइ छ ।

देउराली हरियाली मध्यवर्ती उपभोक्ता समिति सचिव भुपेन्द्र खत्रीले संरक्षणमा युवाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले यसमा जोडिएका युवालाई विभिन्न सीपमूलक र नेतृत्वका विकासका अवसर आउने बताए ।

जनताको प्रत्यक्ष संलग्नतामा मात्रै संरक्षण अभियानले सार्थकता पाउने उनको भनाइ छ । सिबिएपियू टोल युनिट शक्तिनगरकी अध्यक्ष दिलु थापाले संरक्षण अभियानमा जोडिनु युवाको दायित्व भएको बताइन् । उनले चोरी शिकार नियन्त्रण, जैविक विविधतालगायतका संरक्षण अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले चोरी शिकार नियन्त्रण अभियानमा सिबिएपियूका युवाले महत्वपूर्ण भूमिका खेलेको बताए । स्थानीय युवाको अग्रसरताका कारण संरक्षण अभियान प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २० गते मंगलबार