काठमाडौं,२३ माघ/ सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको करिव सवा २ अर्ब रकम नरोक्न अन्तरिम आदेश दिएको छ । राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो ।
मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले उद्योगमा लगाउन विदेशबाट ल्याएको ऋण नरोक्न भनेको अधिवक्ता रामनारायण विडारीले जानकारी दिए । रकम रोक्का गर्ने कानुनी आधार र कारण नभएको तथा उद्योगलाई क्षति पुगेको सर्वोच्चको ठहर छ ।
सर्वोच्चले फागुन २ गते दुबै पक्षलाई बोलाएको छ भने विपिक्षीलाई लिखित जवाफ पेश गर्न भनेको छ । राष्ट्र बैंकले युवराज खतिवडा गभर्नर हुँदा नै सुमार्गी र उनी संलग्न कम्पनीको नाममा आएको ३ अर्ब बढी रकमको स्रोत खुल्न नसकेको भन्दै रोक्का गरेको थियो ।
के हो विवाद ?
सुमार्गीले नेपाल भित्र्याउन खोजेको तीन अर्ब रुपैयाँ चार वर्षदेखि बैंकमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले त्यसको स्रोतबारे प्रश्न उठाएको र सुमार्गीले खुलाउन नसकेकाले रकम निकाल्न सकेका थिएनन् ।
सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम भित्र्याउन खोजेका थिए । दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज ‘ट्याक्स हेभन’का रूपमा परिचित छन् ।
-onlinekhabar.com









प्रतिक्रिया दिनुहोस्