भेरी–बबई डाइभर्सनमा २ किलोमिटर सुरुङ निर्माण



सुदिप अधिकारी : बर्दिया,२२ माघ/   बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको निमार्ण कार्य तिब्र गतिमा भइरहेको छ । मानवरहित टनेल बोरिङ मेसिन( टिबिएम) बाट सुरुङ खन्ने कार्य भइरहेको छ ।

यो मेसिन जडान गर्नका लागि परम्परागत प्रविधिद्धारा १ सय ५० मिटर सुरुङ खनिएको थियो । कात्तिकको तेस्रो सातादेखि मानवरहित टनेल बोरिङ मेसिन( टिबिएम)मार्फत सुरुङ खन्न थालिएको हो ।

तीन महिनाको अवधिमा करिव २ किलो मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । भेरी–बबई डाइभर्सन निमार्णको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले लिएको छ ।

सिँचाई र विद्युत उत्पादनका लागि भेरी नदीको पानी बबई नदीमा खसाल्न भेरी र बबई नदी बिचको चुरे पहाडमा सुरुङ खन्न लागिएको हो । सुर्खेतको हात्तीखालबाट सुरुङ खन्ने काम भइरहेको छ ।

भेरी नदीको पानी बबईमा खसाल्न चुरे पहाडमा १२ किलोमिटर सुरुङ खनिने छ । सुरुङ खन्न नेपालमा पहिलो पटक मानवरहित टनेल बोरिङ मेसिन(टिबिएम) प्रयोग गरिएको हो ।

यो मेसिन चीनबाट भारत हुँदै नेपाल ल्याइएको हो । टिबिएम मेसिन राख्ने ठाउँ बनाउन आयोजनालाई करिव २ वर्ष लागेको थियो । सुरुङ खन्न सुरु गरेपछि यो मेसिनलाई सुरुङ पुरा नगरी बाहिर निकाल्न मिल्दैन ।

मेसिनले दैनिक २० देखि २५ मिटर सुरुङ खनिरहेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर रुक्मागत खनालले जानकारी दिए ।
मेशिनले सफलतापूर्वक काम गरिरहेकाले प्राविधिकहरु निकै उत्साहित भएका छन् ।

लक्ष्य अनुसार काम भइरहेको आयोजनाले जनाएको छ । सन् २०२० मार्चसम्म निमार्ण सम्पन्न गरिसक्ने चाइना कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले ठेक्का पाएको हो । आयोजनाको लागत रु १० अर्ब ५५ करोड रहेको छ ।

आयोजनामा चिनियाँ र नेपाली गरी करिव ६ सयले काम गरिरहेका छन् । आयोजनामा रोजगारी पाउँदा स्थानीयबासी खुशी भएका छन् । भेरी बबई डाइभर्सन निमार्ण कार्य सम्पन्न भए सुरुङ मार्फत ४० क्युबिक लिटर प्रति सेकेण्डका हिसावले भेरीको पानी बबई नदीमा खसालिने छ ।

जसबाट बबई नदीमा पानीको सतह बढने छ । सिँचाइका लागि बबई नदीमा भेरीको पानी ल्याउन लागिएको हो । बबईमा पानी प्रयाप्त भएपछि बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याइने सरकारी लक्ष्य छ ।

सिँचाइका साथै यो आयोजनाबाट विद्युत पनि उत्पादन गरिने छ । यो बहुउद्धेश्यीय आयोजनाबाट ४८ मेघावाट विद्युत उत्पादन गर्ने सरकारी योजना रहेको छ । आयोजना सम्पन्न हुँदा बाँके बर्दियाका जनता सिँचाइ र विद्युत सेवाबाट लाभान्वित हुनेछन् ।

सुरुङ खन्ने काम भइरहेकाले अझै विद्युत गृह निमार्णको काम सुरु गरिएको छैन । अहिले विद्युत उत्पादनका लागि लागत अनुमान, डिजाइनलगायतका काम भइरहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार