सुदिप अधिकारी बर्दिया,१९ माघ/ बारबर्दिया नगरपालिका–८ रानीपुरका ६५ वर्षीय भग्गन थारु प्रसन्न मुद्रामा पारिलो घाम ताप्दै स्वास्थ्य जाँचको पालो कुरिरहेको थिए । पत्नीका साथै अन्य छिमेकी पनि लिएर स्वास्थ्य शिविरमा आएका भग्गनले केही समय पछि पालो पाए ।
उनी हाड जोर्नीको समस्याबाट पिडित थिए । शिविरमा हाड जोर्नी विशेषज्ञ चिकित्सकले जाँच गरेर औषधी दिएपछि उनी निकै खुशी भए । उनले पत्नीको आँखा पनि जाँच गराए । निशुल्क स्वास्थ्य जाँच र औषधी पाए पछि खुशी हुँदै भग्गनले भने, ‘एकदम सजिलो भयो ।
टाढा गएर उपचार गर्न सक्ने अवस्था नै थिएन । गाउँमै उपचार पाइयो । डाक्टर साबहरुलाई धन्यबाद ।’ गाउँमै स्वास्थ्य उपचार पाएपछि भग्गन जस्तै सयौँ स्थानीयबासी निकै खुशी देखिन्थे । बारबर्दियाको बेलवाबज्जामा रहेको वातावरण तथा सामुदायिक विकास केन्द्रले शहिद दिवसको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
शिविरमा स्वास्थ्य जाँच गराउन आएकी बनियाभारकी रनिया थारुले निःशुल्क जाँच र औषधी पाएपछि निकै खुशी भएको बताइन् । उनले भनिन्, ‘वर्षदिन देखि रागले थलिएको थिए । उपचार गराउन जाने पैसा पनि थिएन । रोग पालेर बस्नु परेको थियो । गाउँमै डाक्टर आएपछि धरै राम्रो भयो ।’
स्वास्थ्य शिविरमा आँखा, कान, दाँत, हाड जोर्नी, छाला र स्त्री रोगको जाँच गरिएको थियो ।
भेरी अञ्चल अस्पताल र फत्तेवाल आँखा अस्पताल नेपालगंजका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । आयोजकका अनुसार शिविरमा ६ सय २७ जना व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको छ ।
जसमा मेडिसिनतर्फ १ सय १० जना, हाड जोर्नी ९० जना, स्त्री रोग ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । यसैगरी आँखा १ सय ३२ जना, कान १ सय ६ जना र दाँत १ सय ४३ जनाको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको आयोजक वातावरण तथा सामुदायिक विकास केन्द्रका
अध्यक्ष रामप्रकाश थारुले जानकारी दिए ।
भेरी अञ्चल अस्पतालका फिजिशियन डाक्टर संकेत रिसालको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । गाउँगाउँमा हामी जाऔँ भन्ने उदेश्यका साथ स्वास्थ्य शिविरमा सहभागी भएको डा. रिसालले बताए । स्वास्थ्य परिक्षण गरी सामान्य रोग छ भने शिविरमा औषधी दिने र अलि जटिल प्रकृतीको रोग भेटिएमा भेरी अञ्चल अस्पतालमा रिफर गर्ने गरिएको डा. संकेत रिसालले जानकारी दिए ।
शिविरबाट रिफर गरिएका विरामीलाई भेरी अस्पतालमा सकेसम्म निशुञ्क उपचारको व्यवस्था मिलाइने डा. रिसालले बताए । वातावरण तथा सामुदायिक विकास केन्द्रले २०६३ साल देखि नै निरन्तर वार्षिकरुपमा एक पटक गाउँमा स्वास्थ्य शिविर संचालन गर्दै आएको संस्थाका अध्यक्ष रामप्रकाश थारुले बताए । उनले भने, ‘सामाजिक संस्था भएकाले अन्य सामाजिक क्रियाकलापका साथै वर्षमा एक पटक स्वास्थ्य शिविर आयोजना गर्ने गरेका छौ । यसबाट बेलवाबज्जा गाउँका साथै वरपरका गाउँका जनताले सेवा पाएका छन् ।’
गाउँलेले रोगको उपचार गाउँमै पाउन भनेर वर्षौदेखि गाउँमा स्वास्थ्य शिविर संचालन गर्ने गरेको स्थानीय समाजसेवी प्रशुराम थारुले बताए । स्थानीय सामुदायिक वन र अन्य संघसंस्थासँग समन्वय गरेर शिविरको खर्चको जोहो गर्ने गरेको संस्थाका अध्यक्ष थारुले बताए ।
गाउँमै स्वास्थ्य शिविर संचालन हुँदा आफुहरुलाई निकै सजिलो भएको स्थानीयबासी बताउँछन् । शिविर संचालन हुन लागेयता सामान्य रोगको उपचारका लागि वाहिर जान नपरेको स्थानीयको भनाई छ । शिविर व्यवस्थापनका लागि गाउँलले पनि सहयोग गर्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्