कमल विके निर्माेहीः एक दमदार र सुललित आवाज



स्वरसम्राट नारायण गोपालले गीत गाएका स्टेजदेखि पछिल्लो पुस्ताका गायकहरूका स्टेजसम्म उद्घोषण गरेका र आफ्ना गीत सुनाएका निर्माेहीको जिब्रो अहिले सामान्य शब्दहरू उच्चारण गर्दा पनि लर्बराउने स्थितिमा पुगेको छ । उनी दुवै मृगौला काम नलाग्ने भएर उपचाररत अवस्थामा छन् ।

बीपी अस्तु । नेपालगन्ज ।

केटा ः त्यो माडी खोलाले छेकेको होइन
मलाई छेक्यो मायालु तिम्रै मायाले
केटीः जाउ माया परदेश फर्केर आउनलाई
रोई बसौँला मायालु तिम्रै मायाले

कमल विके निर्माेहीले संकलन र संगीत संयोजन गरेको र २०४४ सालमा गायिका कोमल ओली र माया ओलीका साथमा गाएको यो गीत कुनैबेला रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्रबाट निकै बज्यो । दाङका लोक गायक डा. गोविन्द आचार्यले संकलन तथा संगीत संयोजन गरेको ‘राप्तीको झर्ना’ लोकगीत एल्बमका यो गीत संग्रहित छ । यो गीत अहिले एमएन एल्बम्स नामक युट्युब च्यानलमा सुन्न सकिन्छ ।
निर्माेहीले गाएको अर्काे गीत पनि कुनैबेला रेडियोमा बज्ने लोकप्रिय गीतमध्ये एक थियो । भरत लामाको शब्दमा कमल विके निर्माेही र माया गुरुङको आवाजमा रहेको त्यो गीतको बोल छ ः

केटा ः लाग्यो माया मोहनी नजरमा
बसौँ बसौँ बसौँ लाग्यो घोराही बजारमा
केटीः गुराँस फुल्यो, फुल्यो मेरो तनमा
पिरतीको मात लाग्यो आज यो मनमा

यस्ता स्थानीय माटो र भाकामा आवाज दिएका ६६ वर्षीय वरिष्ठ कलाकार कमल विके निर्माेही यतिखेर अस्वस्थ भएर ओछ्यानमा सीमित हुन पुगेका छन् । निर्माेहीको परिचयको समष्टि रुप उनको आवाज हो, वजनदार र नदीजस्तै सलल बग्ने आवाज । त्यो आवाज कहिले गीतमा सुनियो, कहिले रेडियो प्रस्तोताको रूपमा सुनियो, कहिले माइक्रोफोन हुँदै हजारौँ दर्शकहरूमाझ भव्य स्टेजहरूमा सुनियो । स्वरसम्राट नारायण गोपालले गीत गाएका स्टेजदेखि पछिल्लो पुस्ताका गायकहरूका स्टेजसम्म उद्घोषण गरेका र आफ्ना गीत सुनाएका निर्माेहीको जिब्रो अहिले सामान्य शब्दहरू उच्चारण गर्दा पनि लर्बराउने स्थितिमा पुगेको छ । उनी दुवै मृगौला काम नलाग्ने भएर उपचाररत अवस्थामा छन् ।

मान्छेहरू भेटिरहने, बोल्न मन पराइरहने, आवाज सुनाउन पाउँदा सबैभन्दा बढी खुसी हुने कलाकार निर्माेही यतिखेर अस्वस्थता र मानिसहरू माझबाट एक्लिनुको बोझमा छन् । उनले अपेक्षा गरिरहेका छन्, उनका सहृदयी र सुभेच्छुकहरूको साथ । मृगौला प्रत्यारोपणको सम्भावना खोजिरहेका निर्माेही आवश्यक परे आर्थिक साथको अपेक्षा पनि गरिरहेको बताउँछन् । अहिले हप्तामा दुईदिन डायलासिस गराइरहेका निर्माेहीले छोरोछोरीहरूले उपचारमा भरमग्दुर साथ दिइरहेको बताए । तर, ठूलो रकम चाहिने भएमा त्यसका लागि सुभेच्छुकहरूले साथ दिने अपेक्षा रहेको उनको भनाइ छ ।

सुमधुर आवाज निर्माेहीको पहिलो परिचय भएपनि उनी बहुप्रतिभाशाली कलाकार हुन् । लोक संस्कृतिविद् समेत रहेका लोकगायक डा. आचार्य भन्छन्, ‘कमलजी बहुप्रतिभाशाली कलाकार हो । उहाँको जति सुरिलो स्वर छ, त्यसभन्दा बढी उहाँको उद्घोषण कला प्रभावशाली छ ।रेडियो हुँदै स्टेजसम्म उहाँको उद्घोषण कलाले मानिसहरू उहाँका प्रशंसक बन्ने गरेका थिए । तर त्यतिमात्रै होइन उहाँ सुरुमा वाद्यवादक हो ।रेडियो नेपालमा गीत गाउन जाँदा प्रायः मेरा गीतहरूमा मादल बजाउने उहाँ नै हुनुहुन्थ्यो,’ आचार्यले भने ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं पनि निर्माेहीको व्यक्तित्व मुख्यगरी चारवटा क्षेत्रमा आधारित रहेको बताउँछन् ।उनले निर्माेही गायक, वाद्यवादक, रेडियो तथा स्टेज प्रस्तोता र संगीत तथा विज्ञापन उत्पादकका रूपमा परिचित रहेका बताए । त्यसमा मुख्यगरी उनको गायक र रेडियो तथा स्टेज प्रस्तोताको व्यक्तित्व धेरैमाझ परिचित रहेको चौलागाईंले बताए । निर्माेहीको रेडियो यात्रासँगै नेपालगन्जको रेडियो प्रशारणको इतिहास पनि जोडिएर आउँछ । मध्य तथा सुदुरपश्चिमको पहिलो व्यवसायिक रेडियो वागेश्वरी एफएमको स्थापनाको अगुवामध्येका एक हुन् निर्माेही ।

त्यसपछि उनले आफ्नै वेब मल्टिट्रयाक रेकर्डिङ स्टुडियो र वेब एड्भरटाइजिङ प्रालि सञ्चालन गरेर संगीत तथा विज्ञापनको उत्पादनको व्यावसायिक काम पनि सुरु गरे । अहिले उक्त व्यवसायको जिम्मेवारी उनका छोरा शैलेन्द्र गौतम निर्माेहीले सम्हालिरहेका छन् । निर्माेहीको कलाकारिता यात्रा भने रेडियो नेपालबाट सुरु हुन्छ । उनको बहुप्रतिभाकै कारण करिब २०४८ सालतिर रेडियो नेपालमा प्रवेश पाए । त्यहाँ उनले वाद्यवादन, गायन, समाचार वाचनसम्म गरे । पछि २०५० सालमा रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्र सञ्चालनमा ल्याउँदा उनलाई पनि उक्त केन्द्रमा खटाइयो ।

जहाँ उनले नयाँ प्रशारण केन्द्रलाई स्रोतामाझ स्थापित गराउन भूमिका खेले । उनले सञ्चालन गर्ने कार्यक्रमहरूले स्रोताहरूको मन जित्यो । उनी स्रोताहरूको प्रिय कार्यक्रम प्रस्तोताका रूपमा स्थापित भए । त्यसपछि नेपालगन्जका विभिन्न रेडियो र एनटिभी कोहलपुरमा समेत कार्यक्रम सञ्चालनका साथै व्यवस्थापनसम्मको जिम्मेवारी सम्हालेका निर्माेही नेपालगन्जमा चिरपरिचित सञ्चारकर्मीका रूपमा परिचित छन् ।करिब ११ वर्ष रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्रमा काम गरेका उनले स्थानीय भाकामा आधारित लोकगीतहरू गाउन थाले । गायक कलाकारहरूलाई प्रोत्साहन गरे । त्यसबेला दाङको फूलबारी घर भएका उनी आफूले पश्चिम क्षेत्रका कलाकारहरूलाई प्रोत्साहन गर्ने काममा सहयोग गरेको दाबी गर्छन् ।

‘मेरो सोच स्थानीय भाकाहरू र स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने थियो । मैले आफूले जतिसक्दो प्रयास गरेँ,’ उनको भनाइ छ ।
निर्मोहीको योगदानलाई कदर गर्दै २०७३–०७४ मा नेपाल सरकारले क्षेत्रीय प्रतिभा पुरस्कारसमेत प्रदान गरेको थियो भने दर्जनौँ संघसंस्थाले उनलाई सम्मान पनि गरेका छन् । गायिका कोमल वली निर्माेहीलाई आफ्नो सहोदर दाइजत्तिकै मान्छिन् । उनले निर्माेहीमा सन्दर्भमा भनिन्, ‘उहाँ एक सहृदयी मान्छे हो । मेरो त सहोदर दाईजत्तिकै आदरणीय मान्छे हो । उहाँ अस्वस्थ हुनुहुन्छ भन्ने मैले ढिलो थाहा पाएँ । उहाँको सम्मानमा नेपालगन्जमा केही गर्न सकिन्छ भने सबै मिलेर गरौँ । त्यसमा मेरो साथ रहनेछ ।’

वलीले निर्माेहीले गायनलाई मात्रै अघि बढाएको भए उहाँले अझै राम्रा सिर्जना दिनसक्ने खुबी रहेको बताइन् । ‘उहाँको स्वर एकदमै राम्रो हो ।उहाँसँग मैले त राष्ट्रिय लोकदोहरी प्रतियोगितामा पनि सँगै सहभागिता जनाएकी छु । हामीले धेरै गीतहरूमा सहकार्य गरेका छौँ । तर उहाँले गायनमा मात्रै एकत्रित भएर लागेको भए अझै राम्रा सिर्जनाहरू दिन सक्नुहुन्थ्यो । तर नेपालगन्जबाट काठमाडौँ जानु–आउनु कठिन रहेको थियो होला । धेरै कुराले रोक्यो पनि होला । तर उहाँ एक अब्बल गायक र असल मान्छे हो,’ वलीले भनिन् ।

गायिका कोमल वलीका नजरमा निर्माेही

उहाँ एक मेलोडियस गायक हो । एकदमै राम्रो स्वर छ उहाँको । तर उहाँ एकै विधामा एकत्रित भएर बस्नुभएन । काठमाडौँ कहिलेकाहीँ आउने रेकर्ड गरेर जाने गर्नुभयो । व्यवसायिकरुपले लाग्न त्यसबेला गीत गाएर मात्रै पेट पाल्न सकिने अवस्था पनि त थिएन । एउटा गीत गाएको दुई सय ४० रुपैयाँ पाइन्थ्यो । हामी ‘ख’ श्रेणीका गायक गायिका थियौँ त्यतिबेला । दुई सय ४० ले दाङबाट नेपालगन्ज आउनजान कसरी पुग्नु ।
दाइ एकदमै सहृदयी मान्छे हो ।

सिनियरहरूलाई असाध्यै मान्ने, जुनियरहरूलाई असाध्यै माया गर्नुहुन्छ । हामीलाई त फूलको थुंगाजस्तो व्यवहार गर्नुहुन्थ्यो । आफ्नो आमाबुवाले नजन्माए पनि अभिभावकत्व प्रदान गर्नुहुन्थ्यो । म र मेरा बहिनीहरूका लागि उहाँ अभिभावक जस्तै हुनुहुन्थ्यो । छोरी मान्छेहरूबाट अहिले पनि फाइदा लिन खोज्नेहरू छन् भने त्यतिबेला झन् कस्तो अवस्था थियो हो । त्यसबेला उहाँले आफ्नै बहिनीजस्तो हामीलाई अभिभावकत्व प्रदान गर्नुभएको हो । हामी बालुवाटारमा बस्थ्यौँ । दाइ त्यहाँसम्म पु¥याउन जानुहुन्थ्यो । मलाई कोमु भन्ने बहिनीलाई प्रज्ञा भन्ने, रेकर्डिङ हुनुअघि जानकारी गराउने, हालखबर सोधिराख्ने गर्नुहुन्थ्यो ।

गायनका साथै उहाँ राम्रो बाद्यवादक पनि हो । रेडियोकर्मी र उद्घोषक त उहाँको व्यावसायिक करियर नै भैहाल्यो । उहाँजस्तो बहुप्रतिभाशाली कलाकारका लागि नेपालगन्जमा के गर्न सकिन्छ भन्नेबारेमा नेपालगन्जले सोचोस् । उहाँजस्तो कलाकारलाई सहरले दिनसक्ने सम्मान हो, उहाँको गीतहरूको अलग्गै कन्सर्ट गर्न सकिन्छ कि भन्नेतिर पहल गरौँ । म त्यसमा पूरा साथ दिन तयार छु ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १ गते शनिबार