जयन्तेलाई भेट्न चामल बोकेर आउँछन् उनका फ्यान



काठमाडौं, माघ १८/हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ का जयन्तेलाई धेरै दर्शकले चिन्छन् । तर, उनको वास्तविक नाम कमैलाई थाहा होला । भद्रगोलमा अनौठो तरिकाले हाँसेर दर्शक रिझाएका जयन्तेको वास्तविक नाम हो गोबिन्द कोइराला । झुप्रो घर, दुःखी स्वभाव, बदमास पाँडेको संगत । उनको भूमिका यस्तै छ ।
सिरियलमा दुःखी देखिए पनि अभिनयका प्रशंसकहरु राम्रै कमाएका छन् उनले । फेसबुकमा फलो गर्नेहरु १० हजारको हाराहारीमा छन् । स्टेज कार्यक्रमका लागि पुग्दा दर्शकबाटै घेरिन्छन् । उनका धेरै प्रशंसकहरुले सोच्दा रहेछन्, उनी वास्तवमै दुःखी छन् । भद्रगोलमा सँधै चामलको भात खानका लागि मरिमेट्ने गरेकाले हुन सक्छ धेरै फ्यानले उनलाई भेट्न आउँदा चामल उपहार ल्याइदिने गरेका छन् । ‘आज चाहीँ चामलको भात खानुस् है’ भन्दै चामल ल्याइदिने धेरै छन् । सबै फ्यान उनको घरसम्मै त आउँदैनन् । तर, कार्यक्रममा जाँदा उनीहरुसँग भेट हुने गरेको जयन्ते बताउँछन् ।
‘काठमाडौं मात्रै हैन बाहिर जाँदा पनि चामलको भात खानुस् है भन्दै चामल ल्याइदिन्छन्,’ उनले भने । ‘तपाईंले कति पाँडेको ज्यादती सहेको, पाँडेलाई पनि कुट्नुस् न’ भन्नेहरु पनि धेरै छन् ।
सिरियलमा पाँडेले हेपेको देख्दा उनका फ्यानहरुलाई चित्त दुख्दो रहेछ । कतिपयले भन्ने गरेका रहेछन् ‘पाँडेलाई मज्जाले भकुर्नुस् न हामी रमाएर हेर्छम् ।’ उनले सबै उमेर समुहका फ्यानहरु भेटेका छन् । सबैभन्दा धेरै केटाकेटी नै फ्यान होलान् जस्तो लाग्छ । स्टेज कार्यक्रमका लागि गएको वेला कार्यक्रम सुरु नहोउन्जेल अटोग्राफ दिएरै बित्छ । उनको अटोग्राफ लिनेमा धेरै जसो स्कुले केटाकेटी नै हुन्छन् । अटोग्राफमा धेरै कुरा लेख्न भ्याउदैनन् वीस यु भन्दै सहि गरिदिन्छन् । केही फ्यान यस्ता पनि छन् । हरेक पटक फोन गरेर अहिले के गर्दै हुनुहुन्छ भनेर सोध्छन् । उनी प्राय सबैको फोन उठाउछन् । पटक-पटक एउटै प्रश्न गर्ने फ्यानहरु देख्दा भने दिक्क लाग्ने उनी बताउँछन् । अनलाइनखबर

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १८ गते बिहीबार