प्रदेश राजधानी माग गर्दै दाङमा वृहत् प्रदर्शन



दाङ,४ माघ/ पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै बुधबार घोराहीमा प्रदर्शन भएको छ । प्रादेशिक राजधानी सरोकार समितिको आयोजनामा भएको प्रदर्शनमा उद्योगी, व्यवसायी, राजनीतिक दल र स्थानीय नागरिकको सहभागिता थियो ।

साथै उनीहरुले दाङलाई प्रदेश राजधानी घोषणा नगरे सम्म अनिश्चितकालिन दाङ बन्द गर्ने चेतावनी समेत दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयबाट शुरु भएको ¥याली बजार परिक्रम गरी तुल्सीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सचिव शंकर डाँगीले दाङ राजधानी बन्न योग्य भएकाले अन्यत्र विकल्प खोज्न नहुने बताए । माओवादी केन्द्रका जिल्ला सह–इञ्चार्ज निर्मल आचार्यले दाङ राजधानी घोषणा नभएसम्म आन्दोलन नरोक्ने बताए । एमाले जिल्ला सदस्य विवेक श्रेष्ठले प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थान दाङ भएको धारणा राखे ।

कार्यक्रममा सरोकार समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङमा राजधानीका लागि आवश्यक भवन, पूर्वाधार निर्माणको जग्गा र शान्ति सुरक्षाको सहजता भएकाले राजधानी घोषणा गर्नुपर्ने बताए ।

संघका पूर्व अध्यक्ष मधुसुदन वैद्य, सरोकार समितिका सदस्य सचिव सविन प्रियाशन र साहित्यकार लोकराज पराजुलीले पनि दाङ राजधानीका लागि उपयुक्त स्थान भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका
थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार