आन्दोलनरत् नर्ससँग वार्ता गर्न समिति गठन



काठमाडौं,३  माघ/  स्वास्थ्य मन्त्रालयले बुधबार आन्दोलनरत् नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ र नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् ।

समितिका संयोजक डा. श्रेष्ठले बुधबार संघलाई लिखितरुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय वार्ता निष्र्कषमा पुग्न नसकेको जानकारी दिए ।

‘आज वार्ताका लागि बस्न ढिला भयो, सबै विषयमा छलफल गर्न पाइएन, यो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले जतिसक्दो छिटो टुंगोमा पुर्‍याउने प्रयास गरिरहेका छौं’–उनले भने–‘वार्ता भोलि पनि जारी रहनेछ ।’

संघका कावा अध्यक्ष गंगा थापाले बुधबार सामान्य छलफलमात्र भएकाले बिहीबार बिहान ११ बजे औपचारिक वार्ता हुने जानकारी दिइन् ।

उनले भनिन्–‘आज संघ र संघका पदाधिकारीमात्र वार्तामा थियौं, भोलि वार्ता टोलीपनि गठन गरी औपचारिकरुपमा वार्तामा जान्छौं ।’

‘विदेश पलायन रहर नभइ बाध्यता’
यसैबीच, नेपाल नर्सिङ संघले विभिन्न ११ बुँदे माग राख्दै ८ दिनदेखि गरेको आन्दोलनमा युवा नर्सहरुले पनि समर्थन जनाएका छन् ।

विभिन्न अस्पतालमा कार्यरत् युवा नर्सहरुले बुधबार माइतीघरबाट बानेश्वरसम्म संयुक्त र्‍याली निकाली संघको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी स्ववियु सभापति विमला धमलाले विदेश पलायन नर्सको रहर नभइ बाध्यता भएको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार