
धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिकाका उर्मा–बेहडाबाबा र भादा–बेहडाबाबा सडक स्तरोन्नति हुने भएका छन् । पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय धनगढीले दुवै सडक स्तरोन्नतिका लागि दुई निर्माण व्यवासायीको बोलपत्र स्वीकृत गरेको छ । कार्यालयले बोलपत्र स्वीकृत आशयको सूचना प्रकाशित गर्दै उर्मा–बेहडाबाबा सडक मर्मत तथा स्तरोन्नतिका लागि एनबी निर्माण सेवा, दिपायल सिलगढी–७ डोटीले ६० लाख ३१ हजार ७२ रूपैयाँँ ४० पैसाको बोलपत्र स्वीकृत भएको जनाएको छ ।
त्यस्तै, भादा–बेहडाबाबा सडक मर्मत तथा स्तरोन्नतिका लागि बज्रनाथ कन्स्ट्रक्सन, धनगढी–४ कैलालीले ५८ लाख १३ हजार ३९३ रूपैयाँँ ५० पैसाको बोलपत्र स्वीकृत गरेको छ । दुवै सडक स्तरोन्नतिका लागि कुल एक करोड १८ लाख ४४ हजार ४६५ रूपैयाँँ ९० पैसा लागत प्रस्ताव गरिएको छ । उक्त रकम मूल्य अभिवृद्धि कर बाहेकको हो । कार्यालयले स्वीकृत बोलपत्र अनुसार निर्माण व्यवसायीसंगै सम्झौता भएपछि स्तरोन्नतिको काम अघि बढ्नेछ । आर्थिक वर्ष २०७८–०७९ मा उक्त सडक सांसद् विकास कोषबाट ठेक्का लगाइएको भएपनि स्वीकृत हुन नसकेपछि उक्त ठेक्का अन्त्य गरी नयाँ ठेक्का लगाउन थालिएको हो ।









प्रतिक्रिया दिनुहोस्