
नेपालगन्ज ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ पानीखोलामा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेको घटनामा घाइते भएका एक बालकको स्याहारसुसारका लागि समस्या उत्पन्न भएको छ । आमासहित परिवारका तीन सदस्य गुमाएका र बुबा हिरासतमा रहेका ६ वर्षीय मिलन सलामी मगरलाई स्याहारसुसार गर्न आफन्तहरूसमेत नरहेपछि समस्या उत्पन्न भएको हो । स्थानीय ३८ वर्षीय अम्बर सलामीले मंसिर ५ गते बञ्चरो प्रहार गरी श्रीमतीसँगै दुई छोराछोरीको हत्या गरेका थिए । उक्त घटनापछि टाउकामा गम्भीर चोट लागेर घाइते भएका मिलनको नेपालगन्ज न्युरो अस्पतालमा उपचार भइरहेको छ । मिलनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सक न्युरोसर्जन डा. जोशन न्यौपानेले बताए ।
मिलनलाई उद्धार गरेर अस्पताल पु¥याइ उपचार गरिदिने व्यक्तिसमेत परिवारमा नरहेपछि स्थानीय बासिन्दा तथा वडा कार्यालयमा वडासचिव समेत रहेका दानबहादुर तारामी मगरले नेपालगन्ज ल्याएर उपचार गराइरहेका छन् । तर, उपचारमा लागेकोे पैसा तिर्नसमेत समस्या भइरहेको तारामीले बताए । ‘अस्पतालले सकेको सहयोग गर्ने वचन त दिएको छ । तर, लाग्ने उपचार खर्च, आवतजावत खर्च र फ्लोअपमा लाग्ने खर्च कसरी जुटाउने भन्ने समस्या भएको छ,’ तारामीले भने । उनले सबैभन्दा ठूलो समस्या अब मिलनको हेरचाह र स्याहार सुसार कसले गर्ने भन्नेमा रहेको बताए । उनका अनुसार मिलनका एक नौ वर्षीय दाइ र वृद्ध हजुरबुवा मात्रै छन् । उनीहरू आफैँ अरुको सहारामा बस्नुपर्ने अवस्था रहेकोले गम्भीर घाइते भइ तंग्रिन लागेका मिलनको स्याहार गर्न सक्ने अवस्थामा नरहेका तारामी बताउँछन् । कुनै संघसंस्थाको जिम्मा लगाउनुअघि पनि मिलनको स्वास्थ्य अवस्था सुधार गरिदिनुपर्ने अवस्था रहेकोले आर्थिक सहयोगको अपिल गरिरहेको उनले बताए ।
केही व्यक्तिहरूले सहयोग गरिरहेको भए पनि उक्त सहयोगले अहिलेको उपचार खर्च तिर्नसमेत नपुग्ने अवस्था रहेको तारामीको भनाइ छ । न्युरोसर्जन डा. न्यौपानेले पनि मिलनको भविष्यका लागि सहयोगी संस्था र व्यक्तिहरूको सहयोग आवश्यक रहेको बताए । ‘हामीले उनको ज्यान त जोगाइदिएका छौँ । तर, अब उसको जीवनलाई अघि बढाउन सहाराको खाँचो छ । सहयोगी संस्था र व्यक्तिहरूले साथ दिएर नै उहाँलाई हामीले नयाँ जीवन दिनुुपर्छ,’ डा. न्यौपानेले भने । टाउकोमा लागेको चोटले हड्डी फुटेर मस्तिष्कमा गडेको अवस्थामा बालकलाई अस्पताल ल्याइएकोमा आफूहरूको अथक प्रयासपछि ज्यान बचाउन सकिएको डा. न्यौपानेले बताए । उक्त घटनामा सलामीकी ३५ वर्षीया श्रीमती मनीषा सलामी, १२ वर्षीय छोरा तपेन्द्र र तीन वर्षीया छोरी करिश्माको उपचारका क्रममा मृत्यु भएको थियो । दुई छोराछोरीको दुल्लु अस्पताल र मनीषाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्